NL न्यूज
कास्कीमा विद्यालयको नाममा रहेको जग्गा नक्कली सुकुम्बासीलाई दर्ता गराएको आरोपमा तत्कालीन भूमि आयोगका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२६ मा रहेको सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
मुद्दा दायर गरिएकामध्ये तत्कालीन भूमि आयोग कास्कीका अध्यक्ष पोखरेल, भूमि आयोगका सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी छन्। साथै, जग्गा लिने भीमबहादुर विक पनि मुद्दामा प्रतिवादी बनाइएका छन्।
अख्तियारका अनुसार भीमबहादुर विकले आफ्नी श्रीमती सुकमाया कामीलाई सुकुम्बासी प्रमाणित गर्न गैरसुकुम्बासी हुँदाहुँदै झुटा विवरण पेश गरेका थिए। सो प्रक्रियामा भूमि आयोगका अध्यक्षदेखि मालपोत कार्यालयका प्रमुखसम्मको संलग्नता देखिएको अख्तियारको ठहर छ।
झुटा विवरणलाई तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीबाट प्रमाणित गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइएको र भूमि आयोग कास्कीका अध्यक्ष पोखरेलले सो सम्बन्धमा श्रेस्ता लागू गर्न पत्राचार गराएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारले उनीहरुविरुद्ध एक करोड ४९ लाख २५ हजार रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।





प्रतिक्रिया दिनुहोस्