Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको सफल न्यूरोसर्जिकल शल्यक्रिया

काठमाडौं ।  वीर अस्पतालले नेपालमै मात्र होइन, विश्वमै कमै हुने एउटा ऐतिहासिक काम गरेको छ। अस्पतालले पहिलो पटक १०३ वर्षीया वृद्धाको सफल न्यूरोसर्जिकल शल्यक्रिया गरेको हो।

काठमाडौंको कोटेश्वरमा बस्दै आएकी १०३ वर्षीया महिलाको मस्तिष्कमा ठूलो रक्तस्राव (ब्रेन हेमरेज) भएपछि उनलाई वीर अस्पताल ल्याइएको थियो। अवस्थाको गम्भीरता देखेपछि न्यूरो शल्यचिकित्सक प्राडा राजिव झाको टोलीले उच्च जोखिम मोलेर शल्यक्रिया गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ।

डा. झाका अनुसार शल्यक्रिया नगरेको भए बिरामीको ज्यान तत्काल जोखिममा पर्ने अवस्था थियो। “उमेर निकै धेरै भएकाले जोखिम थियो, तर शल्यक्रिया नगरी अर्को विकल्प नै थिएन,” उनले भने, “यो उमेर समूहमा गरिएको यो पहिलो न्यूरो शल्यक्रिया हो र सफल भएको छ।”

शल्यक्रियापछि वृद्धाको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। अहिले उनी बोल्न सक्ने, आफैं खाना खान सक्ने अवस्थामा पुगेकी छन्। डा. झाले शल्यक्रिया पूर्ण रूपमा सफल भएको बताए।

अस्पतालका अनुसार ती वृद्धालाई करिब एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिँदै आएको थियो। परिवारले अत्यधिक उमेर र सामान्य कमजोरीकै कारण होला भनेर बेवास्ता गरेको थियो। तर दुई दिनसम्म लगातार अचेत भएपछि उनलाई वीर अस्पताल ल्याइएको हो।

चिकित्सकहरूका अनुसार १०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ। यही कारण यो शल्यक्रियालाई वीर अस्पतालको महत्वपूर्ण उपलब्धि मानिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार