Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विवाद चुलियो, के फुट्ने तयारी हो ?

काठमाडौं । नेपाली कांग्रेसको विवाद पुनः चुलिएको छ । महाधिवेशनका विषयलाई लिएर सभापति शेरबहादुर देउवा पक्षधर र महामन्त्रीहरु गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षधरबीच विवाद बढेको हो । सोमबार सभापति देउवाले केही पत्रकारहरुलाई अहिले आमचुनाव नजिकिएकाले १५औँ महाधिवेशन सम्भव नरहेको बताएपछि त्यसको ‘काउन्टर’मा महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको वकालत गरेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विशेष महाधिवेशन अहिलेको आवश्यकता रहेको बताएका छन् । अर्का महामन्त्री शर्मा पनि नियमित महाधिवेशन नहुने अवस्थामा विशेषमै जानुपर्नेमा जोड दिन्छन् । तर, संस्थापन निकट पार्टी प्रवक्ता प्रकाशशरण महत कुनै हालतमा पनि नियमित वा विशेष महाधिवेशन चुनावअघि सम्भव नभएको बताउँदै आएका छन् । 
 
नेपाली कांग्रेसको असोज २८ बाट झण्डै २ महिना चलेको केन्द्रीय समिति बैठकले पुस ३ बाटै महाधिवेशनको प्रक्रिया सुरु गरेर २६, २७ र २८ गतेका लागि मिति तोकेको थियो । विधानतः पनि कांग्रेसको महाधिवेशन मंसिरमै भइसक्नुपर्ने हो । २०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको कांग्रेसले चार वर्षमा अर्को महाधिवेशन गर्नुपर्ने हुन्छ । यदि महाधिवेशन तोकिएकै मितिमा नभए केन्द्रीय समितिले विशेष कारण देखाउँदै एक वर्षका लागि थप गर्न सक्छ । अहिलेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको पनि छैन र म्याद थपबारे बहस भएको छैन । अहिले विशेष महाधिवेशनका लागि दबाब सुरु भएको छ ।

गएको केन्द्रीय समिति बैठकमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेरै विशेष महाधिवेशनको माग गरेका थिए । कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरे ३ महिनाभित्र गर्नुपर्ने व्यवस्था गरेको छ । असोज २८ गते पेश भएको हस्ताक्षरका आधारमा पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाइसक्नुपर्छ । तर, संस्थापन पक्ष भने विशेष महाधिवेशन सम्भव नभएको बताउँदै आएको छ । हस्ताक्षरको वास्तविकता प्रमाणीकरण नगरी बैधानिकता कसरी दिने संस्थापन पक्षका नेताहरुले प्रश्न उठाउँदै आएका छन् । त्यसका लागि तीन महिनाभित्रै वैधानिकता परीक्षण गर्न किन चासो नदिएको, विशेष महाधिवेशन पक्षधर मधु आचार्यले उल्टो प्रश्न गरेका छन् । विशेष महाधिवेशन भनेको १४औँ महाधिवेशनमा प्रतिनिधि बनेकाले नै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नु हो ।

यदि विशेष महाधिवेशन बोलाइए वर्तमान कांग्रेस नेतृत्व असफल भएको ठहर्छ । त्यसैले देउवा विशेष महाधिवेशनको पक्षमा पनि छैनन् । उनी कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई आगामी महाधिवेशनमा सभापतिका लागि साथ दिनेभन्दै मैदानमा उत्रिएका छन् । यसो हुँदा विशेष महाधिवेशन हुननदिन केन्द्रीय समितिमा बहुमत पुराउन सकिने देउवाको विश्वास देखिन्छ । तर, विधान अनुसार विशेष महाधिवेशन गर्नै पर्ने अवस्था आउँछ । त्यसका लागि महामन्त्री थापा र शर्माले राष्ट्रिय भेला बोलाउने तयारी गरेका छन् । कांग्रेसको इतिहासमा उनै शेरबहादुर देउवाले २०५९ असोजमा विशेष महाधिवेशन बोलाउनेभन्दै हस्ताक्षर गरेर पार्टी विभाजन गरेका थिए । अहिले पनि कांग्रेस विभाजनतिर जाने हो किभन्ने त्रास कांग्रेसजनलाई छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार