NL न्यूज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले अन्ततः चार वर्षको दूरी पाटा गर्दै एकता घोषणा गरेका छन्। बुधबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।
यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरिसकेका थिए। कमल थापाले २०७८ को महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि राप्रपा छोडेर राप्रपा नेपाल गठन गरेका थिए।
चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरूलाई एकीकृत गर्ने अपेक्षा राखिएको छ।
एकतापछि एकीकृत पार्टीको वैचारिक दर्शन ‘सम्बर्धनवाद’ रहनेछ। प्रमुख सिद्धान्तहरूमा सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य (धार्मिक स्वतन्त्रतासहित), राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति समावेश छन्।
पार्टीको नेतृत्व संरचनामा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहनेछन्। चुनाव चिन्ह ‘हलो’ र झण्डा साविककै रहनेछ। २०७८ को महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई उनीहरूकै पदमा पुनःस्थापित गरिनेछ भने राप्रपा नेपालका अन्य पदाधिकारीहरूलाई सहमतिका आधारमा सम्मानजनक स्थान दिइनेछ।
जिल्ला, नगर, गाउँ र वडा तहका समितिहरू पनि महाधिवेशनकै संरचनालाई आधार मानेर समायोजन गरिनेछ।
अब फुटेका नेताहरू पुनः एकठाउँमा आएपछि राप्रपा आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।





प्रतिक्रिया दिनुहोस्