Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

समानुपातिक सूचीमा ‘भान्जा–ससुरा’ देखिएपछि कुलमान घिसिङले काटे झुटको पर्दा, यस्तो छ वास्तविकता !

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले आफूविरुद्ध फैलाइएका नातावादको आरोपलाई सिधै अस्वीकार गरेका छन्। समानुपातिक उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा परे भन्ने चर्चापछि उनले सामाजिक सञ्जालमार्फत कडा स्पष्टीकरण दिएका हुन्।

पार्टी एकतापछि प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा घिसिङका भान्जा र ससुरा पनि राखिएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आलोचना चर्किएपछि बुधबार उनले प्रतिक्रिया दिएका हुन्।

घिसिङले ‘भान्जा’ भनेर प्रचार गरिएका व्यक्ति आफ्नो भान्जा नै नभएको स्पष्ट पारेका छन्। साथै ती व्यक्ति उज्यालो नेपाल पार्टीका पनि नभई अर्कै समूहबाट सिफारिस भएका व्यक्ति भएको उनको भनाइ छ। त्यस्तै, ‘ससुरा’ भनेर चर्चा गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको उनले प्रष्ट पारेका छन्।

सामाजिक सञ्जालमा लेख्दै घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णयबाट तयार गरिएको जिकिर गरेका छन्। आफू सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध उभिँदै आएको भन्दै त्यसलाई कमजोर पार्ने उद्देश्यले भ्रामक हल्ला फैलाइएको उनले आरोप लगाए।

राजनीतिमा असहमति स्वाभाविक भए पनि झुट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक भएको घिसिङको भनाइ छ। साथै बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

अन्त्यमा उनले आफू आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा अडिग रहेको भन्दै यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार