Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रुपन्देहीमा एमालेलाई निरन्तर धक्का, रास्वपा प्रवेश गर्दै नेताहरू

काठमाडौं । पुराना दलप्रतिको वितृष्णाले नयाँ दललाई फाइदा पुर्‍याइरहेकै छ । पछिल्लो पटक रुपन्देही एमालेका प्रभावशाली नेता वासुदेव घिमिरे रास्वपा प्रवेशको तयारीमा जुटेका छन् । केहीदिनमै उनी रास्वपाबाट उम्मेदवारी दिने मनस्थितिमा छन् । उनको असन्तुष्टि एमालेमा देखिएको पछिल्लो गलत अभ्यासको हो । अर्थात एमाले 'बा'को कब्जाभन्दा बाहिर जानसकेन, आम असन्तुष्टिकै प्रतिबिम्ब घिमिरेको असन्तुष्टी पनि हो ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य भइसकेका घिमिरे २०७४ को स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिकाका मेयरसमेत भइसकेका थिए । पछिल्लो समय काठमाडौ महानगरपालिकाका मेयर बालने शाहसँग निकट उनी रविसँग पनि नजिक रहे । फेसबुकबाट हालै एमाले त्यागेका घिमिरे अब रास्वपाबाट रुपन्देही-२ मा उम्मेदवारी दिने तयारीमा रहेछन् ।
हामीले घिमिरेलाई सोध्यौं-तपाई रास्वपा प्रवेश गर्दै हो ? उनी भन्छन्- “प्रस्ताव आएको छ, निर्णय प्रक्रियामै छु।” तर अनौपचारिकरुपमा उनी रास्वपामा आवद्ध भइसकेका छन् ।


अब घिमिरेको फेसबुक स्ट्याटस हेरौं- पुराना दलका मुख्य नेतृत्वबाट जनताको चाहना सम्बोधन हुने अवस्था देखिन छाड्यो।”
घिमिरेको यो निर्णय रुपन्देहीमा एमालेभित्र लामो समयदेखि उम्लिरहेको असन्तुष्टिको विस्फोट हो। एमालेले समानुपातिक सूचीमा रुपन्देहीबाट एक जनाको पनि नाम नपठाउँदा स्थानीय कार्यकर्ता र नेताहरू झनै आक्रोशित छन्।

यसअघि नै एमाले लुम्बिनी पूर्व प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा संघका पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवर रास्वपाको समानुपातिक सूचीमा परे। केही दिनअघि मात्रै एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की रास्वपा प्रवेश गरिसके। अब वासुदेव घिमिरेजस्ता प्रत्यक्ष निर्वाचित सांसद पनि उही लाइनमा छन्।

यो क्रम हेर्दा स्पष्ट हुन्छ—एमालेबाट रास्वपातर्फ ‘छुट्टाछुट्टै पलायन’ होइन, संगठित असन्तुष्टि सर्दैछ। रुपन्देहीमा रास्वपाको अर्को बलियो पक्ष के छ भने, बालेन शाहको नैतिक समर्थन छ। तिलोत्तमाका मेयर हुँदा घिमिरेले गरेको कामको खुलेर प्रशंसा गरेका बालेनले अघिल्लो निर्वाचनमा उनलाई समर्थनसमेत गरेका थिए। यही ‘काम गर्ने’ छवि रास्वपाको राजनीतिक ब्रान्डसँग मिल्छ—कम बोल्ने, काम देखाउने।

रुपन्देहीबाट आएको यो संकेत स्पष्ट छ—जनाधार भएको जिल्ला चुपचाप एमालेको हातबाट फुत्किँदैछ। र त्यो खाली ठाउँ भर्न रास्वपा अहिले सबैभन्दा तयार देखिन्छ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार