Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि, बालेन र कुलमान मिलाएको जश लिने होडमा सागर ढकाल

काठमाडौं ।  सागर ढकाल ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै जिल्ला डडेल्धुरामा चुनौति दिएपछि चर्चामा आएका व्यक्ति हुन् । जो यतिबेला रास्वपा बालेन र कुलमान मिलाउन भूमिका खेलेको अपनत्व लिन खोजिरहेका छन् । जबकी जेनजी आन्दोलन हुँदा उनी त्यतिबेला डडेलधुरामा थिए । काठमाडौँ तातिरहेको थियो, युवाहरू लाठी–गोली सामना गरिरहेका थिए, तर ढकाल फेसबुकमा विचार लेखिरहेका थिए। आन्दोलन सकिन लाग्दा, वार्ता सुरु हुँदा, बालुवाटार खुल्दा भने उनी अचानक हरेक फ्रेममा देखिन थाले। प्रधानमन्त्री बनाइ हाल्छन् कि भन्ने लोभमा उनी आफु डडेलधुराबाट काठमाडौँ आउन लागेको पनि फेसबुकमा लेखी भ्याउँथे ।
यतिसम्मकी बालुवाटारको त्रिपक्षीय वार्ता यसको ज्वलन्त उदाहरण हो। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको आधिकारिक सूचीमा ढकालको नाम थिएन। तर तस्बिरमा उनी जेनजी प्रतिनिधि बसेकै सिटमा हुन्थे ।

ढकालको पछिल्लो गतिविधि हेर्ने हो भने एउटा स्पष्ट ट्रेन्ड देखिन्छ—जहाँ ‘नयाँ शक्ति’ छ, त्यहीँ ढकाल छन्। जेनजी आन्दोलन, बालेन, रवि, कुलमान—तीनै जनासँग आफूलाई जोड्ने प्रयास। उनी कहिले मध्यस्थ बनेर देखिन्छन्, कहिले मिलनकर्ता, कहिले संरक्षक। रास्वपा कार्यालय पुगेर ‘समन्वय’ गरेको दाबी गर्छन् । पार्टी एकतापछि समानुपातिक सूचीको बचाउ गर्छन् । आलोचना आएपछि पार्टीभन्दा अगाडि उभिएर सफाइ दिन्छन् ।

यस्तो लाग्छ—एकता भइसकेपछि होइन, एकताको जश लिने दौडमै उनी अघि छन्।
ढकाल बारम्बार भन्छन्—“म कसैसँग छैन, देशको स्थिरतासँग छु।” सुन्न राम्रो लाग्छ। तर व्यवहार हेर्दा उनी हरेक सम्भावित राजनीतिक केन्द्रसँग देखिन्छन्। जेनजी आन्दोलनमा अपनत्व, रास्वपा–बालेन–कुलमानको एकतामा अपनत्व—सबै ठाउँमा आफूलाई ‘अनिवार्य पात्र’ बनाउने अभ्यास।

यहाँ प्रश्न स्वाभाविक छ—यो अपनत्व कसले दियो ?
जेनजीले ?
बालेनले ?
रविले ?
कुलमानले ?
कि ढकाल आफैँले ?

ढकाल भन्छन्—पद चाहिएको होइन, पछाडि बसेर सहयोग गर्न चाहेको। तर राजनीतिमा पछाडि बसेर सहयोग गर्नेहरू क्यामेराको फ्रेममा अगाडि देखिँदैनन्। यहाँ त ढकाल अगाडि छन्—बोल्दै, लेख्दै, समन्वय गर्दै, व्याख्या गर्दै।
यथार्थ के हो भने, जेनजी आन्दोलन ढकालको होइन, रास्वपा–बालेन–कुलमानको एकता पनि ढकालको परियोजना होइन। तर उनी त्यसको राजनीतिक लाभ लिन आतुर देखिन्छन्। घण्टीबाट चुनाव लड्ने तयारीमा रहेका ढकालका लागि यो सबै ‘राजनीतिक पूँजी’ हो ।

समस्या ढकालसँग मात्र होइन। समस्या त्यो प्रवृत्तिसँग हो, जहाँ आन्दोलन सकिनासाथ केही अनुहारहरू त्यसको मालिकजस्तै प्रस्तुत हुन थाल्छन्। प्रतिनिधित्व आफैँ घोषणा गरेर हुँदैन। आन्दोलनको पीडा नबोकी, आन्दोलनको श्रेय लिन खोज्दा त्यही आन्दोलन कमजोर हुन्छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार