Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने गगनको भनाइलाई अर्थमन्त्रीको समर्थन

काठमाडौं ।  स्थानीय तह उपनिर्वाचनको प्रचारमा गगनकुमार थापाले कीर्तिपुरको डाँडाबाट भनेका थिए—
डाँडामा ल्यापटप बोकेर महिनाको तीन लाख कमाउन सकिन्छ।”
त्यसपछि के भयो ?
सोसल मिडियामा हाँसोको बाढी आयो। कसैले गगनलाई “डाँडामा दौडिँदै गरेको आईटी केटा” बनायो, कसैले ल्यापटप बोकेर उकालो चढेको भिडियो बनाएर व्यंग्य कस्यो। कतिले भने—“अब बेरोजगारी हटाउने योजना यही हो ?”
त्यतिबेला धेरैलाई त्यो कुरा हावादारी, चुनावी भाषण, कल्पनाको संसार जस्तै लाग्यो। यसलाई यथार्थमा बदल्न राष्ट्रबैंकले केही नियम संशोधन गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल प्रविधि क्षेत्रसहित विदेशी लगानी भित्र्याउन तयार बने ।
फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा खनालले गगनको ‘किर्तिपुर डाँडो’ सम्झिए।
र उनले भने—नेपालका युवाहरू रिमोट वर्कर बनेर विदेशी कम्पनीमा काम गरिरहेका छन्, यसलाई रोक्न होइन, सहज बनाउनुपर्छ।
अर्थमन्त्री भन्छन्—८/९ वर्षअघि ५ सय डलर बराबरको डलर कार्ड सुविधा दिँदा रिमोट वर्करलाई कति सजिलो भयो। अहिले त्यही अनुभवका आधारमा विदेशी लगानी, लाभांश लैजान, विदेशी ऋण व्यवस्थापनमा राष्ट्र बैंकको नियम परिवर्तन गरिएको छ। अर्थात्, ल्यापटप बोकेर काम गर्ने युवालाई अब “शंकास्पद” होइन, अर्थतन्त्रको हिस्सा मान्ने सोच सरकारमै पुगेको छ।

राष्ट्रबैंकले संशोधन गरेको विनियमावलीमा के छ
?

सूचना प्रविधि क्षेत्रका कम्पनीले अमेरिकी डलर २० हजार वा सो बराबरसम्मको रकम विदेशमा लगानी गर्न कानुनले अब बाधा नपुग्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार आईटी कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रहने गरी विदेशका क्षेत्र वा उद्योगमा लगानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट पाउनेछन् । 
कम्पनीले कम्तिमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख रकमसम्म लगानी गर्न सक्नेछन् । तर विदेशमा सेवा निर्यात गर्ने कम्पनीले २० हजार डलरसम्मको लगानी गर्दा कुनै अतिरिक्त शर्त पालन गर्नुपर्ने छैन् । 
यसका लागि अब सिधैं केन्द्रीय बैंक जानुपर्ने बाध्यता पनि हटाइएको छ । विदेशी मुद्रा सटही सुविधा वाणिज्य बैंकमार्फत लिन सकिने व्यवस्था गरिएको छ । 
यसले गगनले भनेजस्तै सूचना प्रविधिको क्षेत्रमा एककदम फड्को मार्न सक्छ ।
जब गगनले यो कुरा भने, राजनीतिक भाषामा होइन, भविष्यको संकेतमा बोले। तर यसलाई धेरैले उडाए । तर अर्थमन्त्रीले त्यही कुरा सरकारी भाषामा बन्दा मानिसलाई बल्ल सत्यको आभाष भइरहेको छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार