NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच देखिएको सहकार्यलाई ‘दुब्लाहरूको मोर्चाबन्दी’ भन्दै कटाक्ष गरेका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्ता गठबन्धनले कुनै सार्थक परिणाम नदिने दाबी गरे।
‘कुखुरा, बाख्रा र स्याल मिलेर मोर्चा बनाएर केही हुँदैन,’ ओलीले भने, ‘घैँटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा गर्न सक्दैन।’ उनले दुब्ला शक्तिहरूको काम नै मोर्चाबन्दी गर्ने भएको टिप्पणी गर्दै आगामी दिनमा यस्ता प्रयासहरू थप देखिने दाबी गरे।
ओलीले एमाले ११औँ महाधिवेशनले लोकप्रियता र अलोकप्रियताबारे बनाइएका भाष्यलाई जवाफ दिएको बताए। उनले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको दाबी गर्दै अब हुने निर्वाचनबाट ‘राष्ट्रिय फैसला’ हुने उल्लेख गरे।
‘को लोकप्रिय छ भन्ने बहस चुनावसम्म चलिरहन्छ। कतिपयले प्रधानमन्त्री नै बनाइसके,’ ओलीले व्यंग्य गर्दै भने, ‘हामी चुनाव पर्खिरहेका छौँ। महाधिवेशनले हामी तयार छौँ भन्ने सन्देश दिएको छ।’
अध्यक्ष ओलीले लोकतन्त्र अन्ततः बलिया पार्टीहरूकै हातमा रहने दाबी गर्दै विशाल एमाले र कांग्रेस देखेपछि अन्य दलहरू कहिले यतासँग, कहिले उतासँग मिल्ने क्रम जारी रहने टिप्पणी पनि गरे।





प्रतिक्रिया दिनुहोस्