NL न्यूज
काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै, प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसार महोत्सवमा निर्वाचन प्रक्रिया प्रति सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले शान्तिपूर्ण, निष्पक्ष र संविधानसम्मत चुनावको माध्यमबाट देशको समृद्धि र स्थायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
तमु गुरुङ राष्ट्रिय परिषदद्वारा आयोजित ल्होसार महोत्सवको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल, नागरिक समाज र जनतालाई निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गर्दै भनेकी छिन्, “सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन।”
उनले सांस्कृतिक विविधता नेपालकै ठूलो शक्ति भएको उल्लेख गर्दै तमु ल्होसारले एकताको सन्देश फैलाउने सांस्कृतिक महत्त्वको चर्चा गरिन्। घोडा वर्षको प्रतीक साहस, शक्ति र कर्मठताको ऊर्जा लिएर सबै नेपालीले देशको समृद्धि यात्रामा अघि बढ्नुपर्ने कुरामा जोड दिइन्।
प्रधानमन्त्रीले मतभेद भए पनि संवाद र सहमतिको मार्ग रोज्नु नै नेपालको लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्दै आगामी निर्वाचनले युवाहरूको चाहनाअनुसारको देश निर्माणमा नयाँ पाटो थप्ने विश्वास व्यक्त गरिन्।
उनले राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेकोमा आभार व्यक्त गर्दै निर्वाचन सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि जोड दिइन्।





प्रतिक्रिया दिनुहोस्