Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा नाम राखिएपछि रास्वपाप्रति रुष्ट महेन्द्र लावती

काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम राखिएको विषयमा असहमति जनाएका छन्।

उनले उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता भएको विषयमा आफूहरूसँग कुनै छलफल नै नगरिएको दाबी गरेका छन्। रास्वपाले आयोगमा बुझाएको सूचीमा लावतीको नाम आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा समावेश गरिएको छ।

नेपाल लिडसँग कुरा गर्दै लावतीले उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता भएको खबर आफूहरूले समाचारबाट मात्र थाहा पाएको बताए। ‘एकता भएको समाचारबाट थाहा पायौँ। त्यसपछि हाम्रा मुद्दा के हुन्छन् भनेर सोध्दा घोषणा पत्रमा आउँछ भनिएको छ। हामी के लेखिन्छ भनेर पर्खिएर बसेका छौँ,’ उनले भने।

लावतीले गणतन्त्र, धर्म निरपेक्ष राज्य, संघीयता र समानुपातिक प्रणाली आफूहरूका लागि बटमलाइन भएको स्पष्ट पारे। तर सात बुँदे सहमतिमा यी विषय नसमेटिएकोप्रति उनले आपत्ति जनाए।

‘यी विषयमा पार्टीले स्पष्ट धारणा सार्वजनिक नगरे हामी रास्वपासँग हुँदैनौँ। हामी धेरै त्यता जाँदैनौँ,’ लावतीले भने।

उनका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले चुनावी घोषणा पत्रमा यी मुद्दा समेटिने आश्वासन दिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार