NL न्यूज
काठमाडौं । आफ्नालाई नै सांसद बनाउनु थियो भने प्राइमरी इलेक्सनको नौटंकी किन ? नयाँ वैकल्पिक दललाई आमनागरिकले सोधेको प्रश्न हो, यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छानेर समानुपातिक बन्द सूची बुझाउने योजना बुनेको थियो । प्राइमरी इलेक्सन अर्थात पार्टीभित्रबाटै प्रतिष्पर्धाका लागि मतदानबाट छानिने प्रक्रिया हो । यो प्रक्रियामा लोकप्रिय मत पाउनेलाई निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा तल राखिएको छ । प्राइमरी इलेक्सनमा सातौं नम्बरमा रहेका विपिन आचार्यलाई पहिलो नम्बरको खसआर्यमा ल्याइएको छ । किनकि उनी सभापति रवि लामिछानेका व्यापारिक साझेदार हुन् । प्राइमरी इलेक्सनमा पहिलो नम्बरमा परेका रमेश प्रसाईं निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा पाँचौ नम्बरमा पुर्याइएको छ ।
रास्वपाले प्राइमरी इलेक्सनको नतिजालाई ५० प्रतिशत मात्रै मतभार दिन्छ । बाँकी ५० प्रतिशत मतभार विभिन्न नाममा पार्टीको नेताको तजविजमा राखिने गरिएको छ । यसलाई रास्वपाले नेतृत्व क्षमतादेखि अनेक नाम दिएको छ । यही ५० प्रतिशत मतभारलाई आधार बनाएर सभापति लामिछानेले आफू निकटलाई माथि ल्याएका हुन् ।
प्राइमरी इलेक्सनमा १८ हजारभन्दा बढी मत पाएर पहिलो नम्बरमा परेका रमेश प्रसाईं आयोगमा बुझाएको बन्दसूचीमा खसआर्यतर्फ पाँचौ नम्बरमा परेका छन् । अब उनी समानुपातिकतर्फबाट सांसद हुनैका लागि औषतमा रास्वपाले ३५ लाख मत कटाउनुपर्छ । अर्थात १ करोड चार लाख मत समानुपातिकतर्फ खसेमा रास्वपाले ३२ देखि ३५ लाख मत ल्याउनै पर्छ, खस आर्यमा रमेश प्रसाईंलाई ल्याउन । त्यसमा पनि प्रत्यक्षतर्फ रास्वपाका धेरै खसआर्य महिलाले जितेको हुनुपर्छ नत्र समानुपातिककै बन्दसूचीबाट पूर्ताल गर्नुपर्छ । त्यसैले प्रसाईंलाई त्यति सहज नहुनसक्छ । त्यस्तै प्राइमरी इलेक्सनमा खसआर्यतर्फ दोस्रो मत ल्याउने प्रमोद न्यौपाने पनि समानुपातिक बन्दसूचीमा चौथोमा परेका छन् । उनका हकमा पनि प्रसाईंकै जस्तो हुन आउँछ ।
अब खसआर्यमा को–को बन्द सूचीमा परेका छन् त ?
पहिलो नम्बरमा रास्वपाका सहमहान्त्री विपिन आचार्य, दोस्रो र तेस्रो नम्बरमा बालेनको कोटाबाट सचिन ढकाल र सुदिप ढकाल, चौथो नम्बरमा न्यौपाने, पाँचौमा प्रसाईं छैटौंमा कुलमानको कोटाबाट अनुप उपाध्याय रहेका छन् ।
अब खर्सआर्य महिलाका कुरा गरौं, प्राइमरीमा सबैभन्दा बढी मत ल्याएकी रञ्जु दर्शना बन्दसूचीको १०औँ नम्बरमा परेकी छन् । पहिलो नम्बरमा लामिछाने उपप्रधानमन्त्री हुँदा स्वकीय सचिवालयमा रहेकी प्रतीभा रावललार्ए राखिएको छ, प्राइमरी इलेक्सनमा उनी नवौं स्थानमा थिइन । उनी रवि पत्नी निकिता पौडेलकी खास हुन । खस आर्य महिलातर्फ दोस्रो नम्बरमा बालेनको कोटाबाट गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा, तेस्रो नम्बरमा लिमा अधिकारी, प्राइमरी इलेक्सनमा दोस्रो बनेकी टीका संग्रौला छैटौं नम्बरमा परेकी छन् ।
रास्वपाको प्राइमरी इलेक्सनमा आदिवासी जनजातितर्फ सर्वाधिक भोट ल्याएका उत्तमबहादुर गुरुङलाई बन्दसूचीमै राखिएन । आदिवासी जनजाति महिलातर्फ सर्वाधिक मत ल्याएकी सत्यकला राई बन्दसूचीमा भने १६ औं स्थानमा पुर्याइएकी छन् । आदिवासी जनजाति पुरुषमा बालेनतर्फबाट राम लामाको नाम शीर्षस्थानमा छ । आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो स्थानमा परेकी छन् । दलिततर्फ प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याएका विजय जैरी बन्दसूचीबाटै हटाइएको छ । दलितमा रुपक विश्वकर्माको नाम पहिलो स्थानमा छ । दलित पुरुषतर्फ दोस्रो स्थानमा बालेनका कोटाबाट प्रकाश सपूतलाई राखिएको छ । रास्वपाको प्राइमरी इलेक्सनमा हारेका प्रकाशचन्द्र परियारलाई तेस्रो नम्बरमा राखिएको छ । दलित महिलातर्फ कुलमान घिसिङको पार्टीबाट रिमा विश्वकर्मालाई पहिलो नम्बरमा राखिएको छ । यदि नेताकै तजबीज हुनेभए प्राइमरी इलेक्सनको नाटक किन गरेको भनेर रास्वपालाई प्रश्न गर्न थालिएको छ ।





प्रतिक्रिया दिनुहोस्