NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धि सहमति भएको छ। सोमबार काठमाडौंमा दुवै पार्टीका शीर्ष नेतृत्वबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार दुवै पार्टी एकीकरणपछि नयाँ दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। पार्टीको चुनाव चिन्ह घण्टी कायम रहने र केन्द्रीय कार्यालय काठमाडौंमै रहने उल्लेख छ। एकतापछि पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने उपसभापतिमा डा. पी. अर्याल र डा. कुलमान घिसिङ रहने सहमति भएको छ।
सहमति पत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, सामाजिक न्याय, समावेशीकरण र योग्यता प्रणाली (Meritocracy) लाई पार्टीको मुख्य राजनीतिक आधार बनाउने उल्लेख छ। साथै, २०८१ सालको जनआन्दोलन, घाइते र सहिदहरूको बलिदानलाई सम्मान गर्दै पीडित परिवारको उचित व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
एकतापछि उज्यालो नेपाल पार्टीका अभियान, युवा सक्रियता र संगठनात्मक संरचना रास्वपाको कार्यदिशासँग समायोजन गरिनेछ। पार्टीका सबै गतिविधि निर्वाचन आयोगमा अद्यावधिक गरिने सहमति पनि गरिएको छ।
सहमति पत्रमा रास्वपाका सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। सहमतिमा साक्षीका रूपमा बालेन्द्र शाह छन्।





प्रतिक्रिया दिनुहोस्