NL न्यूज
भाद्र २३ र २४ का दिन नेपालले नचाहँदा–नचाहँदै इतिहासकै सबैभन्दा दर्दनाक र लज्जास्पद दृश्यहरू देख्यो। त्यही घटनाबारे छानबिन गर्न बनेको आयोगसमक्ष सोमबार तत्कालीन गृहमन्त्री रमेश लेखकले लामो, विस्तृत र भावनात्मक लिखित बयान दिएका छन्। लेखकले सार्वजनिक गरेको ७ पृष्ठ लामो बयानमा के छ ?
१. घटना दुःखद थियो, माग जायज थिए
रमेश लेखकको बयानको सुरुवात नै पीडाबाट हुन्छ। उनले जेन–जी युवाहरूले उठाएका माग गलत नभएको र भ्रष्टाचारविरुद्ध आवाज, सुशासनको चाहना र अभिव्यक्तिको स्वतन्त्रता—यी सबै जायज माग भएको बताएका छन् । तर त्यो शान्तिपूर्ण प्रदर्शन घुसपैठका कारण हिंसात्मक बनेको र त्यसले युवाहरूको ज्यान लिएको उनको निष्कर्ष छ ।
२. सुरक्षा संयन्त्रलाई ‘बल नचलाउन’ स्पष्ट निर्देशन
लेखकले आफू गृहमन्त्री हुँदा के–कस्तो भूमिका खेले भन्ने कुरा विस्तारमा राखेका छन्।
भाद्र २२ गते साँझै उनले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएका थिए—जहाँ सेना, प्रहरी, सशस्त्र, गृहसचिव, सीडीओ सबै थिए।
उनको मुख्य निर्देशन तीन वटा मात्रै थियोः
- कुनै हालतमा क्याजल्टी नहोस्
- समन्वय गरेर शान्ति सुरक्षा मिलाओस्
- प्रदर्शन नेतृत्वविहीन हुन सक्छ, घुसपैठ हुन सक्छ—सावधान रहनुहोस्
३. प्रधानमन्त्रीसँग समेत परामर्श
लेखकले एक्लै निर्णय गरेको आरोपलाई पनि उनले खारेज गरेका छन्। सुरक्षा समिति बैठकपछि उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेको र प्रधानमन्त्री, रक्षामन्त्री, सञ्चारमन्त्री र सुरक्षा निकायबीच अनौपचारिक छलफल भएको बताएका छन् । त्यहाँ पनि क्याजल्टी नहोस् भन्ने निष्कर्ष निकालेको उल्लेख छ ।
४. प्रदर्शन ‘हाइज्याक’ भयो भन्ने ठम्याइ
लेखकको ठोकुवा छ— भाद्र २३ को जेन–जी आन्दोलनलाई लोकतन्त्रविरोधी शक्तिले हाइज्याक गर्यो। युवाहरूले आफैं सामाजिक सञ्जालमार्फत “आन्दोलन हाइज्याक भयो, घर फर्किनुस्” भनेको तथ्य उनले उल्लेख गरेका छन्। भाद्र २४ को घटना त झन् गम्भीर थियो— सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाउने दुस्साहसलाई लेखक भन्छन् “यो जेन–जीको सोच होइन, यो राष्ट्र र लोकतन्त्रविरुद्धको नियोजित आक्रमण थियो।”
५. नैतिक जिम्मेवारी लिएर राजीनामा
लेखक स्वीकार गर्छन्—कानुनी रूपमा गल्ती नहुँदा पनि नैतिक जिम्मेवारी लिएर उनले तत्काल राजीनामा दिए। उनका शब्दमा, “राजनीतिमा नैतिकता सबैभन्दा ठूलो मूल्य हो।” कसैले आदेश नदिएको, बल प्रयोग नगरेको, तर गृहमन्त्री हुँदा नागरिक मरे—त्यसको बोझका कारण राजीनामा दिएको बताएका छन् ।
६. व्यक्तिगत क्षति पनि कम थिएन
लेखकले बयानमा व्यक्तिगत पीडा पनि खोलेका छन्—
- महेन्द्रनगर र काठमाडौंका घर जले
- हजारौँ ऐतिहासिक कागजात, पुस्तक नष्ट भए
- सबैभन्दा पीडादायी—अक्सिजनमा रहेकी आमालाई समयमै अस्पताल पुर्याउन नसक्दा केही दिनमै उनको निधन
७. स्थानहद र राहदानी रोक्काप्रति गुनासो
आयोगको सिफारिसमा आफूलाई काठमाडौं उपत्यकाभित्र सीमित गरिएको र राहदानी रोक्का गरिएको कुरा उनले सञ्चारमाध्यमबाट मात्र थाहा पाएको दाबी गरेका छन् । उनले
कुन कानुन अनुसार ?, किन ?,कति समयका लागि ? र बिना सुनुवाइ किन ? गरियो भन्दै प्रश्न गरेका छन् । यो प्रक्रिया संविधान र विधिको शासनविपरीत भएको उनको ठम्याइ छ।
लेखकले भाद्र २३–२४ को घटना पूर्वाग्रहरहित, निष्पक्ष र गहिरो अनुसन्धान होस् भन्दै दोषी जो–कोही भए पनि उन्मुक्ति नपाओस् भनेका छन् ।
पूरा पढ्नुहोस् ।





प्रतिक्रिया दिनुहोस्