NL न्यूज
काठमाडौं ।
नेपाली राजनीतिमा कहिलेकाहीँ ठूला घोषणा मञ्चबाट हुँदैनन्, फेसबुकको एक लाइनबाट हुन्छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पछिल्लो स्टाटस पनि त्यस्तै देखिएको छ—सामान्य शब्द, तर गहिरो सन्देश ।
‘नयाँ दिन, नयाँ शुरूवात । सुन्दर र समुन्नत नेपालको सपना। गन्तव्य तय हुँदैछ...’ यो कुनै मोटिभेसनल कोट मात्रै हो कि नयाँ पार्टीको टिकट झिक्ने पूर्वसूचना ? राजनीतिक वृत्तमा यही प्रश्न चलिरहेको छ।
यो स्टाटस त्यस्तो बेला आएको होे, जब रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘सहमति’ भयो । समय, शब्द र सन्दर्भ—तीनै कुरा मिल्दा राजनीतिमा संयोगभन्दा संकेत बलियो मानिन्छ । खरेलले औपचारिक रूपमा “म रास्वपामा प्रवेश गर्दैछु” भनेका छैनन्। तर ‘नयाँ शुरूवात’ र ‘गन्तव्य तय हुँदैछ’ भन्ने वाक्यांशले पुरानो घर छोडेर नयाँ आँगनतिर लाग्दैछु भन्ने अर्थ लगाउन असहज हुँदैन ।
कांग्रेसको कार्ड अझै खल्तीमै
रोचक पक्ष के छ भने, जगदीश खरेल अहिले पनि नेपाली कांग्रेसका क्रियाशील सदस्य नै हुन् । दोलखाको कालिन्चोक गाउँपालिका–१ का खरेल कांग्रेसको आधिकारिक विवरणमा अझै सुरक्षित छन् । उनी दोलखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत क्रियाशील सदस्य सूचीको क्रमसंख्या १५३ मा छन् । २०७८ असोजमा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेका खरेल पार्टीका साधारण समर्थक होइनन् । उनी पूर्ण क्रियाशील नेता हुन् । तर नेपाली राजनीतिमा क्रियाशील सदस्यता भन्दा पनि ‘चुनावी सम्भावना’ ठूलो हुन्छ । अहिलेको माहोल हेर्दा खरेलले कांग्रेसभन्दा रास्वपामा बढी भविष्य देख्न थालेको अनुमान गलत नहोला।
मिडियाबाट मन्त्रालयसम्म
इमेज टेलिभिजनमा लामो समय काम गरेका खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम राजनीतिक समीकरणको उपज हुन् । केपी ओली नेतृत्वको सरकार अपदस्थ भएपछि कार्की नेतृत्वमा बनेको, ६ महिनाभित्र निर्वाचन गर्ने सर्तसहितको सरकारमा खरेल मन्त्री बने ।
जगदीश खरेलको एक स्टाटसले यति धेरै बहस जन्माउनु आफैंमा संकेत हो। उनी केवल मन्त्री होइनन्, चुनावी बाटो खोजिरहेका एक महत्वाकांक्षी पात्र हुन् ।
अब प्रश्न यो होइन खरेल रास्वपा जान्छन् कि जाँदैनन् ? प्रश्न यो हो—रास्वपा खरेललाई कति आवश्यक ठान्छ ? जवाफ चाँडै आउनेछ ।





प्रतिक्रिया दिनुहोस्