NL न्यूज
काठमाडौं । निकै चर्चामा रहेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङबीच शनिबार निर्णायक छलफल भइरहेको छ।
दुई नेताबीच हाल छलफल जारी रहेको भए पनि छलफलको स्थान गोप्य राखिएको छ। उनीहरूबीच वैकल्पिक राजनीतिक शक्ति निर्माणका सम्भावित मोडालिटी र रणनीतिबारे गम्भीर संवाद भइरहेको जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि बालेनले घिसिङसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ। शनिबार नै बालेन र लामिछानेबीच सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको बताइएको छ।
बालेन र लामिछानेबीच रास्वपालाई नै वैकल्पिक राजनीतिक शक्तिको केन्द्र बनाउने सहमति भइसकेको छ। तर उक्त शक्तिमा अन्य नेताहरूलाई कसरी समेट्ने भन्ने विषयमा अझै पूर्ण सहमति हुन सकेको छैन। सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षरअघि बालेन र घिसिङबीच छलफल भइरहेको जनाइएको छ।
यसअघि शुक्रबार राति मेयर बालेन आफूनिकटका व्यक्तिहरूसँग गोदावरीमा छलफलमा बसेका थिए। घिसिङसँगको छलफल सकारात्मक रहेमा शनिबार नै बालेन र लामिछानेबीच थप संवाद हुने र सहमतिमा हस्ताक्षर हुन सक्ने स्रोतले बताएको छ।





प्रतिक्रिया दिनुहोस्