NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले निर्णायक वार्ता चलिरहेको छ। ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा केहीबेरदेखि दुई नेताबीच छलफल जारी छ। यसैबीच वार्तास्थल बाहिरबाटै एउटा असामान्य दृश्य सार्वजनिक भएको छ। जेनजी अभियानका अगुवा सुदन गुरुङले रवि र बालेनबीच सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै घरको गेटमा ताला लगाइदिएको बताएका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै गुरुङले दुई नेताहरू भित्रै रहेको र बाहिरबाट गेट बन्द गरिएको जानकारी दिएका हुन्।
भिडियोमा गुरुङ भन्छन्— ‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म उहाँहरू मिल्नुहुन्न, तबसम्म यो गेट खुल्दैन। हामीले ताला लगाइदिएका छौँ।’ भिडियो खिचिरहेका एक व्यक्तिले पृष्ठभूमिबाट ‘को–को नेता दाइ ?’ भनेर प्रश्न गर्दा गुरुङले जवाफ दिन्छन्—‘हाम्रो मेयर साब र हाम्रो रवि लामिछाने। दुई जना नै।’
गुरुङले आफूहरू अहिले गेटको सुरक्षागार्ड बनेर बसेको दाबी पनि गरेका छन्।‘हामी चाहिँ अब यहाँ गार्ड। थुनिदिएका छौँ। मिले मात्रै आउँछन्, नत्र आउँदैनन्।’
पृष्ठभूमिबाट फेरि प्रश्न आउँछ— ‘अब यत्तिकै बस्ने हो दाइ ?’ गुरुङको जवाफ छ—‘हो, अब यत्तिकै हो। चाबी हामीसँग छ।’
वार्ता निर्णायक मोडमा
रवि–बालेनबीचको यो वार्तालाई अत्यन्तै निर्णायक रूपमा हेरिएको छ। यसअघि पनि उनीहरूबीच पटक–पटक भेटवार्ता भए पनि कसरी अघि बढ्ने भन्ने विषयमा ठोस सहमति जुट्न सकेको थिएन।
चुनावको मिति नजिकिँदै जाँदा र वैकल्पिक शक्तिहरूबीच नयाँ राजनीतिक समीकरणको चर्चा चुलिँदै गएको अवस्थामा, कुपण्डोलको यो बन्द ढोकाभित्र के सहमति बन्छ भन्नेमा सबैको नजर केन्द्रित भएको छ।





प्रतिक्रिया दिनुहोस्