NL न्यूज
काठमाडौं । फागुन २१ गते तय भएको निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिमा वैकल्पिक शक्तिहरूबीच नयाँ समीकरणको प्रयास तीव्र बन्दै गएको छ। सोही प्रयासको केन्द्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन देखिएका छन्।
बिहीबार ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, मेयर बालेन, जेनजी अभियन्ता सुदन गुरुङ, नेपाली कांग्रेसका नेता सुनिल शर्मा लगायत नेताहरूबीच छलफल सुरु भएको छ।
बुधबार मध्यरातसम्म भेटघाट, चर्चित अनुहारको जमघट
बालेनले बुधबार मध्यरातसम्म पनि विभिन्न क्षेत्रका सक्रिय र चर्चित व्यक्तित्वसँग निरन्तर भेटघाट गरेका थिए। सो भेटघाटमा
डा। भगवान् कोइराला, राप्रपाका नेता ज्ञानेन्द्र शाही, सरसफाइ तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे सहभागी थिए।
यस्तै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियाको समेत उपस्थिति भएको स्रोत बताउँछ ।
बालेन–कुलमान छुट्टै छलफल
बिहीबार बिहान मेयर बालेनले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल गरेका छन्। उच्च स्रोतका अनुसार छलफलमा चुनावी सहकार्यबारे सकारात्मक कुराकानी भएको बताइएको छ।
सोही छलफलपछि बालेन ललितपुर पुगेर रवि लामिछानेसहित अन्य नेतासँग संयुक्त छलफलमा जुटेका हुन्।
संसद् पुनर्स्थापनामा केन्द्रित बहस
छलफलपछि कांग्रेस नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा कुरा भएको जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,
‘हामी १० वर्षपछि कांग्रेसको सभापति बन्छौँ। पार्टी छोड्ने कुरा हुँदैन। आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भयो।’
राप्रपाका ज्ञानेन्द्र शाही पनि सक्रिय
वैकल्पिक शक्तिहरू एक हुनुपर्ने बहसमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सक्रिय देखिएका छन्। स्रोतका अनुसार उनले गएराति बालेनसँग छलफल गरेका थिए भने बिहीबार बिहान पनि पुनः भेटघाट भएको छ। २४ घण्टाभित्र दुई पटक भएको भेटमा ‘नयाँ शक्तिहरू मिलेर अघि बढ्नुपर्ने’ विषयमा केन्द्रित छलफल भएको बताइएको छ।
रवि–बालेनबीच सत्ता र पार्टी नेतृत्वको प्रस्ताव
यसअघि सोमबार राति कमलपोखरीमा भएको रवि–बालेन भेटवार्तामा यसपटक सरकारको नेतृत्व बालेनले गर्ने र पार्टी नेतृत्व रविले सम्हाल्ने प्रस्ताव आएको समाचार सार्वजनिक भएको थियो। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव समेत छलफलमा आएको उनीहरू निकट नेताहरूले बताएका छन्। यद्यपि, यसमा ठोस सहमति भने भइसकेको छैन।





प्रतिक्रिया दिनुहोस्