NL न्यूज
काठमाडौं । नेपाल ट्रस्टको बहुचर्चित जग्गा प्रकरणमा अर्बौँ रुपैयाँको हिनामिनाको आरोप खेपिरहेका पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्की धरौटीमै रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले बुधबार अर्जुन कार्कीलाई ६ लाख र लेखबहादुर कार्कीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालयले पुस २ गते दुवै कार्कीसहित थामशेर्कु ट्रेकिङ प्रालि र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो। आरोप गम्भीर छ— नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोडभन्दा बढी दिनुपर्ने प्रस्ताव हुँदाहुँदै १ अर्ब ५९ करोडमै सम्झौता गरियो।
अनुसन्धानले देखाएको अनुसार २०७४ जेठ १४ गते भाडा र निर्माण खर्च भन्दै जम्मा १ अर्ब ५९ करोड रुपैयाँमा सम्झौता गरियो, जुन प्रस्तावित रकमभन्दा करिब ४ अर्ब ८६ करोड रुपैयाँ कम हो। सीआईबीले यसलाई नियमविपरीत र ठगीको स्पष्ट उदाहरण ठहर गरेको छ।
झन् सूचनामै नपरेको कित्ता नं. ४६०५ को जग्गा समेत सम्झौतामा घुसाइएको, क्षेत्रफल थपघट गरिएको र पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ।
सम्झौतामा ३ तला मात्रै बनाउने भनिए पनि भवन ५ तलासम्म ठड्याइएको पाइएको छ। चौथो र पाँचौँ तलाको भाडाबापत मात्रै ३८ करोड ८४ लाख रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउनुपर्ने सीआईबीको माग छ।





प्रतिक्रिया दिनुहोस्