Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गगन थापा भन्छन् – पूर्णबहादुर कार्यवाहक, तर शक्ति देउवा नै !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको शक्ति संरचनामाथि गम्भीर प्रश्न उठाएका छन्। उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति रहेको दाबी गर्दै थापाले वास्तविक शक्ति सभापति शेरबहादुर देउवाकै हातमा केन्द्रित रहेको बताएका छन्।

बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “सभापतिले कार्यवाहक दिनुभएको छ, तर नाम मात्रको। आजको बैठकमा सभापति आउनु भएको छैन, तर सबै शक्ति उतै छ।”

गत असोज २८ गते केन्द्रीय समिति बैठकको उद्घाटनका क्रममा देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। भदौ २४ गते जेन–जी आन्दोलनकारीको आक्रमणमा परेपछि देउवा दम्पती उपचारका लागि विदेश गएका थिए।

एक महिनापछि स्वदेश फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो। त्यसपछि देउवा पुनः पार्टी राजनीतिमा सक्रिय भएका छन्। हाल उनी अन्य राजनीतिक दलका शीर्ष नेतृत्व, सरकार र राष्ट्रपतिसँग निरन्तर संवाद र छलफलमा व्यस्त छन्।

महामन्त्री थापाको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्व शैली र ‘कार्यवाहक’ पदको वास्तविक अर्थमाथि उठेको खुला असन्तुष्टिका रूपमा हेरिएको छ। यसले कांग्रेसको आन्तरिक राजनीति थप तातिने संकेत देखिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार