NL न्यूज
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। मंगलबार बसेको आयोगको बैठकले आवश्यक कानुनी विवरण नबुझाएको भन्दै ती दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल समाजवादी पार्टीको दर्ता खारेज गरिएको छ।
यसअघि आयोगले यी ६ दलसहित शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण र आवश्यक विवरण पेश गर्न निर्देशन दिएको थियो। शिव सेना नेपालले मागअनुसारको विवरण बुझाएपछि उसमाथि कारबाही भएन भने बाँकी ६ दलले आयोगले मागेको विवरण नबुझाएको र स्पष्टीकरणमा समेत जवाफ नदिएको पाइएको आयोगले जनाएको छ।
यद्यपि मंगलबारकै बैठकले निर्णय टुंगो लगाइसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक जानकारी भने भोलि सार्वजनिक गरिने बताए। कानुनले व्यवस्था गरेअनुसार दल दर्ता कायम राख्न आवश्यक विवरण नबुझाएको र आयोगको पत्राचारलाई बेवास्ता गरेकाले दर्ता खारेज गर्नुपरेको आयोगको निष्कर्ष छ।





प्रतिक्रिया दिनुहोस्