NL न्यूज
काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच समझदारी भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा उक्त सहमति बनेको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण कसरी बनाउने भन्ने विषयमा विस्तृत छलफल गर्न बालुवाटारमा पुनः बैठक बस्ने समझदारीसमेत भएको छ।
छलफलमा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक जटिलताको निकास निर्वाचन नै भएको बताएका छन्। “चुनावको घोषणा देशलाई निकास दिनका लागि गरिएको हो, त्यसैले निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित तीन ठूला दलका शीर्ष नेताहरूलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्