Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हारको ह्याट्रिक बने काठमाडौँ–१ मा रवीन्द्र मिश्र

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ–१ बाट फेरि पराजित भएका छन्। लगातार तेस्रो पटक निर्वाचन हार्दै उनले हारको ह्याट्रिक बनाएका हुन्। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै स्पष्ट जित निकालिन्। नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। मिश्र भने ३ हजार ९७२ मतमा सीमित हुँदै तेस्रो स्थानमा झरे। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएका मिश्र यसपटक भने प्रतिस्पर्धामा निकै पछाडि परे।

अघिल्ला दुई चुनावमा झिनो हार
काठमाडौँ–१ मा मिश्र यसअघि दुई पटक निकै झिनो मतान्तरले पराजित भएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १४३ मतसहित विजयी भएका थिए। त्यसबेला मिश्रले ७ हजार ११ मत ल्याएका थिए र उनी १३२ मतले मात्रै पराजित भएका थिए।

त्यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रमा सिंहले नै जीत निकालेका थिए। सिंहले १० हजार ९३६ मत प्राप्त गर्दा विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार ११८ मत ल्याएका थिए। त्यो चुनावमा उनी ८१८ मतान्तरले पराजित भएका थिए।
दुई पटक झिनो अन्तरले हार व्यहोरेका मिश्रले यसपटक भने मतदाताको समर्थन गुमाउँदै तेस्रो स्थानमा खुम्चिनुपर्‍यो।

राजनीतिक यात्रामा मोड र मतदाताको सन्देश
रवीन्द्र मिश्र नेपाली मिडिया र वैकल्पिक राजनीतिको चर्चित अनुहार मानिन्थे। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनले साझा पार्टी स्थापना गरेर वैकल्पिक राजनीतिको बहस सुरु गरेका थिए। पछि विवेकशील नेपाली पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी गठन गरिएको थियो। त्यही प्रक्रियामा रञ्जु दर्शना पनि वैकल्पिक राजनीतिको अभियानबाट अघि बढेकी थिइन्। उनी विवेकशील नेपाली पार्टीबाटै राजनीतिमा चिनिएकी पात्र हुन्।

तर २०७९ सालको निर्वाचनअघि मिश्रले पार्टीको राजनीतिक प्रतिवेदनमा राजतन्त्र पुनर्स्थापनासम्बन्धी प्रस्ताव ल्याएपछि पार्टीभित्र विवाद चर्कियो। त्यसपछि रञ्जु दर्शना र सहसंयोजक मिलन पाण्डेले मिश्रको प्रस्तावको विरोध गर्दै विद्रोह गरेका थिए। पछि मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे र काठमाडौँ–१ बाट चुनाव लड्ने अवसर पाए।

पुरानो राजनीतिक सहयात्राबाट चुनावी प्रतिस्पर्धा
एक समय एउटै वैकल्पिक राजनीतिक अभियानमा सँगै काम गरेका रञ्जु दर्शना र रवीन्द्र मिश्र यसपटक भने चुनावी प्रतिस्पर्धामा आमनेसामने भए। यसपटक परिणाम भने स्पष्ट रूपमा रञ्जुको पक्षमा गयो। उनले मिश्रलाई धेरै मतान्तरले पछाडि पारिन्। रञ्जु यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–५ बाट उम्मेदवार बनेकी थिइन्। त्यतिबेला अपेक्षाकृत मत ल्याउन नसके पनि उनी राजनीतिक रूपमा सक्रिय रहिन्। त्यसअघि २०७४ सालमा विवेकशील नेपाली पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर उनले २३ हजारभन्दा बढी मत ल्याएकी थिइन्। त्यही चुनावले उनलाई राष्ट्रिय स्तरमा चिनाएको थियो।

चुनावअघिको नयाँ समीकरण
यसपटकको निर्वाचनअघि रञ्जु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी थिइन्। पार्टीले उनलाई काठमाडौँ–१ बाट उम्मेदवार बनायो।
रास्वपाको संगठनात्मक समर्थन र युवा मतदाताको आकर्षणले उनलाई बलियो बनायो। अन्ततः उनले कांग्रेस र राप्रपाका उम्मेदवारलाई पछि पार्दै काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिन्। यो परिणामले काठमाडौँ–१ को राजनीतिमा नयाँ पुस्ताको उदय र पुराना वैकल्पिक राजनीतिक धाराबीचको प्रतिस्पर्धालाई पनि नयाँ ढंगले देखाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार