Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

२१ वर्षमा मेयरको उम्मेदवार, ९ वर्षपछि सांसद: रञ्जु दर्शनाको संसद यात्रा

काठमाडौं — एक समय काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षको उमेरमै चुनाव लडेर चर्चा कमाएकी रञ्जु दर्शना अहिले प्रतिनिधिसभा सदस्य बनेकी छन्। करिब एक दशक लामो राजनीतिक यात्रापछि उनले संघीय संसदमा प्रवेश गर्ने अवसर पाएकी हुन्।

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरिन्। नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो भए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा सीमित भए। यो जित रञ्जुका लागि मात्रै होइन, उनको लामो वैकल्पिक राजनीतिक यात्राको एउटा महत्वपूर्ण मोड पनि हो।

किशोर उमेरबाटै राजनीतिक यात्राको सुरुआत
रञ्जु दर्शना नेपाली राजनीतिमा अचानक उदाएकी पात्र होइनन्। उनी किशोर उमेरदेखि नै वैकल्पिक राजनीतिको अभियानमा सक्रिय रहँदै आएकी हुन्। २०७० सालतिर, उनी करिब १७ वर्षकी हुँदा विवेकशील नेपाली पार्टीमा आवद्ध भइन्। त्यतिबेला नेपालमा बन्द–हड्तालको संस्कृति निकै व्यापक थियो। विभिन्न राजनीतिक दलले बारम्बार नेपाल बन्द घोषणा गर्दा सर्वसाधारणलाई ठूलो सास्ती हुन्थ्यो।

यही अवस्थाविरुद्ध आवाज उठाउँदै रञ्जु सडकमा देखिन थालिन्। ‘बन्द बहिष्कार अभियान’ नाम दिइएको आन्दोलनमा उनी अग्रपंक्तिमा सक्रिय भइन्। बन्दको विरोधमा युवाहरू सडकमा निस्कने त्यो अभियानले धेरैको ध्यान तानेको थियो।

यसै क्रममा उनी सामाजिक काममा पनि सक्रिय रहिन्। २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि राहत वितरण र पुनर्स्थापनाको काममा उनी स्वयंसेवकका रूपमा खटिइन्। चिकित्सा शिक्षा सुधार र भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले थालेका आन्दोलनमा पनि उनले सहयोगी भूमिका निभाइन्।

मेयरको चुनावले ल्यायो राष्ट्रिय चर्चा
२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। त्यसबेला रञ्जु विवेकशील नेपाली पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन्। त्यो समय उनी करिब २१ वर्षकी थिइन्। युवा उमेर, फरक राजनीतिक शैली र नयाँ सोचका कारण उनको उम्मेदवारी निकै चर्चामा रह्यो।

‘काठमाडौं विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनले परम्परागत दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरिन्। अन्ततः उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्। त्यो निर्वाचनमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए। तर रञ्जुको उम्मेदवारीले उनलाई राष्ट्रिय स्तरमै चिनाएको थियो।

राजनीतिक उतारचढाव
स्थानीय तहको चुनावपछि वैकल्पिक राजनीतिको यात्रामा पनि उतारचढाव देखियो। २०७८ सालतिर विवेकशील पार्टीभित्र आन्तरिक विवाद बढ्दै गयो। अन्ततः रञ्जुले पार्टीबाट राजीनामा दिइन् र केही समय स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिइन्। ‘सेलरोटी’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनले त्यतिबेला ठूलो मत भने पाउन सकिनन्। त्यो चुनावमा उनले करिब ६ सय मत मात्रै प्राप्त गरिन्। त्यो परिणामले उनको राजनीतिक यात्रा रोकिने हो कि भन्ने अनुमान पनि गरिएको थियो। तर उनले सक्रियता भने छोडिनन्।

रास्वपाबाट नयाँ मोड
२०८१ सालमा रञ्जु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन्। रास्वपामा प्रवेशसँगै उनी पार्टीको केन्द्रीय सदस्य समेत बनिन्। सुरुमा उनी समानुपातिक सूचीमा थिइन् । तर चित्त नबुझेपछि उनी प्रत्यक्ष लड्ने निधोो गरिन् ।  त्यसपछि पार्टीले उनलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनायो। यसपटक भने परिस्थिति फरक थियो। युवा मतदातामाझ उनको पहिलेदेखिको परिचय, वैकल्पिक राजनीतिको पहिचान र रास्वपाको संगठनात्मक समर्थनले उनलाई बलियो बनायो। अन्ततः उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिन्।

युवाबाट संसदसम्म
मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जु दर्शनाले स्नातक तहसम्म अध्ययन गरेकी छन्। करिब एक दशकअघिको सडक आन्दोलन, बन्दविरुद्धको अभियान, सामाजिक सेवामा सक्रियता र युवा राजनीतिको प्रतिनिधित्व गर्दै सुरु भएको उनको यात्रा अहिले संघीय संसदसम्म आइपुगेको छ। २१ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर ध्यान तानेकी रञ्जु दर्शना अब संघीय संसदमा नयाँ पुस्ताको आवाजका रूपमा देखिने अपेक्षा गरिएको छ। उनको यो जितले काठमाडौंको राजनीतिमा मात्रै होइन, वैकल्पिक राजनीति खोजिरहेका युवामाझ पनि नयाँ बहस र अपेक्षा जन्माएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार