NL न्यूज
काठमाडौं । भदौ २३-२४ गतेको जेनजी आन्दोलनको सहज अवतरण नभइरहेका बेला फेरि अर्को मुठभेड निम्त्याउने खतरा सुरु भएकोछ । शक्तिकेन्द्रहरु पुन: सल्बलाउन थालेका छन् । त्यसको असर नेपाली राजनीतिमा देखिन थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको तारन्तार भेटपछि राजनीतिक परिदृश्य बदलिनसक्ने आंकलन थालिएको छ ।
देउवा-ओली भेटपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि जोडिएका छन् । यी मुख्य पुराना दलका प्रमुखसमेत रहेका तीन पूर्वप्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ताको समय मागेका थिए । राष्ट्रपतिले प्रधामन्त्री सुशीला कार्कीलाई समेत छलफलमा डाके । भेटमा संसद पुनर्स्थापनाकै विषयलाई केन्द्रमा राखेर सर्वदलीय सरकार बनाउने योजनाबारे छलफल भएको बुझिएको छ । पुराना दलको तयारीमा 'काउन्टर' दिने गरी वैकल्पिक शक्ति बताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पनि संवाद जारी छ । सोमबार ६ घण्टा लामो वार्ता उनीहरुबीच भएको छ । धेरैले सत्ताका लागि गठजोडको संज्ञा दिइरहेका बेला उनीहरुबीच अबको राजनीतिक परिस्थितिमै छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागार रहेका रास्वपा सभापति लामिछानेलाई छुटाउन पनि यही प्रयोजनका लागि भएको स्रोतको दाबी छ । जेनजी आन्दोलनको सहज अवतरण हुन नसकेका बेला पपुलर यी दुई नेतालाई एकठाउँमा उभ्याउने शक्तिकेन्द्रको प्रयासले सार्थकता पाउने अनुमान गरिएको छ । रवि-बालेन खासै मिल्ने पात्र होइनन्, बालेनले रविलाई नेता नमान्ने बताइनै रहेका थिए । तर, एकाएक परिस्थिति बदलिएको छ । उनीहरु एक ठाउँमै उभिएर नेपाली राजनीतिमा एउटा शक्ति बन्ने गरी काम अघि बढाउने छलफलहरु भइरहेका छन् ।
संसद पुनर्स्थापनाको योजना तीन नेताले तारन्तार न्यायाधीशहरुसँग समेत संवाद गरेको बुझिएको छ । एमालेले मंसिर १० गते प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेको थियो । त्यसपछि देउवा-ओली भेटपछि कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेसहित ८ निवर्तमान सांसदले दायर गरेको रिट मंसिर २३ गते दर्ता गरे । एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले दायर गरेको रिटमा संवैधानिक इजलासले मंसिर १७ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गर्यो भने घिमिरेको रिटमा पुस २ गते कारण देखाउ आदेश दियो । अब यी मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने तयारी रहेको छ । पुसको अन्तिम वा माघको पहिलो सातासम्ममा आदेश दिने तयारी रहेको बुझिएको छ ।
संसद पुनर्स्थापनाको माहोल बनाउँदै पुराना दल भूराजनीतिक छायाँमा परेको नेपाली राजनीतिलाई पुरानै अवस्थामा फर्काउन चाहेको एउटा शक्तिले ओली-देउवा-प्रचण्डलाई एक ठाउँमा उभ्याएको छ । केपी शर्मा ओली र शेरबहादुर देउवा संसद पुनर्स्थापनाको मुद्दामा एकठाउँमा आए । देउवाको जोडबलमा प्रचण्ड पनि गाँसिए । उनीहरु संसद पुनर्स्थापनाका नाममा एक ठाउँमा उभिने र सर्वदलीय सरकार बनाएर अघि बढ्ने तयारीमा छन् । सम्भव भएको अवस्थामा यीनैमध्ये देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने । तर, नेताहरु यो सम्भावना कम देख्नछन् । त्यसैले उनीहरु अर्को विकल्पकारुपमा प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउने योजना पनि बुनेका छन् ।
देउवाले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई अघि बढाउन सकिने र त्यसलाई सर्वदलीयको रुप दिने प्रस्ताव गरेको स्रोतले दाबी गरेको छ । यदि यो अवस्थामा पनि अड्चन आए पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अघि सार्ने गरी घनिभूत छलफल चलिरहेको स्रोत बताएकोछ । अर्को विकल्पका रुपमा सुशीला कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउने गरी छलफल अघि बढेका छन् । अहिले संसद पुनर्स्थापनाका लागि माहोल बनाउनैका लागि केही जेनजी समूह सडकमा उतार्न थालिएको छ । सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार/मंगलबार प्रदर्शन भएको छ । ‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिए । सडकको माहोलसँगै अदालतबाट संसद पुनर्स्थापनाको खेल चलिरहेकै छ ।
रवि-बालेन भेटको अन्तर्य परिस्थिति प्रतिकूल हुँदैगएपछि अर्को शक्ति केन्द्रले वैकल्पिक धारका रवि-बालेनलाई एकठाउँमा ल्याउने प्रयास जारी राखेका छन् । उनीहरु बीच सोमबारको छलफल अघि पनि भिक्टर पौडेल, कुमार बेन, असिम शाहहरु निरन्तर संवादमा थिए । रविसँग पनि कुमार बेन भिक्टरहरु संवादमा रहँदा बालेनसँग असिम संवादमा थिए ।
रवि-बालेनको ६ घण्टा वार्तामा सहकार्यका कुरा मात्र भएन, स्रोत भन्छ- संसद पुनर्स्थापना हुने अवस्थामा कसरी ट्याकल गर्ने ? आन्दोलनका लागि आ-आफ्ना कार्यकर्तालाई तयारी अवस्थामा राख्ने गरी कुरा भएको स्रोतको दाबी छ । जेनजी आन्दोलनका एक अगुवा सुदन गुरुङ समूहलाई मैदानमा उतार्ने योजना बनेकोछ । केही अघि नेपाल लिडसँग सुदनले संसद पुनर्स्थापना भए सडक आन्दोलन हुने चेतावनी दिएका थिए । शक्ति केन्द्रहरु आ-आफ्ना स्वार्थमा सक्रिय बन्दा नेपाली राजनीतिक दलहरु पनि आ-आफ्नो दाउमा लागेका छन् । यसले पुन: देशलाई मुठभेडतर्फ धकेल्ने सम्शय पैदा गरेको छ ।





प्रतिक्रिया दिनुहोस्