Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचनपछि संविधानको पूर्ण पुनर्बहाली हुने गृहमन्त्रीको विश्वास

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको प्रारम्भिक चरणमा उठेका आशंका र विरोधहरू अहिले सरकारको कामका कारण विश्वासमा रूपान्तरण हुन थालेको बताएका छन्। उनले सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै स्वाभाविक हुने उल्लेख गर्दै ती आशंका गर्नेहरूसँग निरन्तर संवाद गरेर सरकार विश्वास दिलाउन सफल भएको दाबी गरे।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा विभिन्न दलका मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको पनि उनले बताए। उनका अनुसार प्रदेशस्तरका नेतृत्वले निर्वाचन सफल बनाउन सक्रिय रूपमा सहयोग गरेकाले विश्वासको वातावरण निर्माण हुँदै गएको हो।
गृहमन्त्री अर्यालले सुरक्षाको प्रत्याभूति र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता सरकारले व्यवहारमार्फत देखाएपछि प्रारम्भमा शंका गर्नेहरू पनि निर्वाचन सफल बनाउन सकारात्मक बनेको बताए।

उनले देशले विगतमा ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै त्यसबाट मुलुकलाई जोगाउन र परिस्थितिलाई सामान्य बनाउन निर्वाचन आवश्यक रहेको धारणा राखे। विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि पनि निर्वाचन अपरिहार्य रहेको उनको भनाइ छ। उनले निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने तथा त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार