Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा सदस्य चयनका लागि सकियो मतदान, ५० प्रतिशत मात्रै खसेको आकलन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसँगै सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउने व्यवस्था गरिएको छ। तर निर्धारित समयभित्र मतदान केन्द्रको लाइनमा नपुगेका मतदाताले भने मतदान गर्न नपाउने जनाइएको छ।

आयोगका अनुसार देशभर छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रारम्भिक विवरणअनुसार यसपटक ५० प्रतिशतभन्दा बढी मत खसेको आयोगले जनाएको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि मतदान भएको हो। निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। साथै १४३ अस्थायी मतदानस्थल समेत तय गरिएको थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो। यस्तै निर्वाचन सञ्चालनका लागि २ लाख १५ हजार कर्मचारी खटिएका थिए। मतदान सम्पन्न भएसँगै देशभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ लैजाने काम सुरु गरिएको छ। आवश्यक तयारी पूरा भएपछि सम्बन्धित जिल्लामा मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार