NL न्यूज
काठमाडौं – प्रतिनिधि सभाको निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ। सातै प्रदेशका १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रमा मतदाता आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध भएका छन्। यस निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रका लागि ३४ सय ६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिक प्रणालीमा ११० र प्रत्यक्ष प्रणालीमा १६५ सदस्यका लागि एकै चरणमा मतदान भइरहेको छ। गत निर्वाचनमा सातै प्रदेशमा १०,७५६ मतदान स्थल र २१,९५५ मतदान केन्द्र तोकिएको थियो। यसपटक २१४ नयाँ मतदान स्थल र १,१५७ नयाँ मतदान केन्द्र थपिएर निर्वाचन व्यवस्थालाई अझ व्यापक बनाइएको छ।
आज देशभर १ करोड ९० लाख ५,३२४ मतदाता मतदानमा सहभागी हुँदैछन्। गत निर्वाचन २०७९ मा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। जेनजी आन्दोलनपछिको अन्तरिम सरकारले अध्यादेशमार्फत ९ असोजदेखि ५ मंसिरसम्म खुला गरेको मतदाता नामावली संकलनमा झण्डै ८.५ लाख नयाँ मतदाता थपिएका थिए।
यो निर्वाचनमा ६८ दलले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेका छन्। तीमध्ये ५८ जना चर्चित उम्मेदवार मानिन्छन्। कतिपय निर्वाचन क्षेत्रलाई ‘हट सिट’ प्रतिस्पर्धा मानिएको छ, जहाँ राजनीतिमा लामो अनुभव भएका उम्मेदवार मैदानमा छन्।
सुरक्षा व्यवस्थापन
निर्वाचन सुरक्षामा व्यापक तयारी गरिएको छ। नेपाली सेना २१ माघदेखि फिल्डमा खटिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) पनि निर्वाचन सुरक्षाका लागि परिचालित छन्। राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरू निर्वाचन प्रक्रियामा प्रतिकूल असर पार्ने गतिविधि र आचारसंहिता उल्लंघन निगरानीमा खटिएका छन्।





प्रतिक्रिया दिनुहोस्