NL न्यूज
काठमाडौं । बिहीबार देशभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ। गृह मन्त्रालयमा बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानका क्रममा हेलिकप्टरमार्फत पेट्रोलिङ गर्ने निर्णय गरेको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। मन्त्रालयकी उपसचिव रमा आचार्यका अनुसार निर्वाचनको समग्र तयारी र समसामयिक सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको थियो।
उनका अनुसार सुरक्षा व्यवस्था थप मजबुत बनाउन मतदान अवधिभर हेलिकप्टर स्ट्यान्डबाइ राखी आवश्यक परेमा पेट्रोलिङ र आपतकालीन उद्धारका लागि परिचालन गर्ने निर्णय गरिएको छ। केन्द्रीय सुरक्षा समितिले हालसम्म निर्वाचनमा गम्भीर सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ। बैठकमा सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी सुरक्षा अवस्थाको समीक्षा गरिसकेका छन्।
निर्वाचनका क्रममा कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको उपसचिव आचार्यले जानकारी दिइन्।





प्रतिक्रिया दिनुहोस्