NL न्यूज
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा संयन्त्र मतदान स्थलसम्म पुगिसकेको बताएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन स्वच्छ, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने दाबी गरे।
“हामीले नागरिकले निर्धक्क भएर मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौँ। त्यसैले सबै मतदाता मतदानमा सहभागी भइदिनुहोस् र आफूलाई मन परेको योग्य प्रतिनिधि छान्नुहोस्,” उनले भने। उनका अनुसार यसपटकको निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको गुणस्तर सुदृढ गर्ने अवसर पनि हो। राजनीतिक सुशासन कायम गर्न यो निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा सरकारले गरेको उनले बताए।
मतपेटिका ढुवानीमा कडा सुरक्षा
गृहमन्त्री अर्यालले मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षित ढुवानी गरिने जानकारी दिए। सुरक्षा योजनाअनुसार गाडीको अगाडि चालक र मतदान अधिकृत बस्ने, त्यसपछि मतपेटिका राखिने र सुरक्षाकर्मी तैनाथ गरिने व्यवस्था गरिएको छ। उम्मेदवारका प्रतिनिधि पनि सोही सवारीमा रहनेछन्। आवश्यकता परेमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको गाडीले स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको उनले बताए।
सद्भाव बिगार्ने प्रयास नियन्त्रणमा
निर्वाचनका क्रममा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयास भए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने गृहमन्त्रीको चेतावनी छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सबै सुरक्षा निकाय परिचालन गरेको उनले स्पष्ट पारे।





प्रतिक्रिया दिनुहोस्