Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कोशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

विराटनगर । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश कार्यालय विराटनगरका अनुसार मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै काम अन्तिम चरणमा पुगेका छन्।

प्रदेश निर्वाचन अधिकारी चोलराज दंगालले अधिकांश मतदान केन्द्रमा भौतिक व्यवस्थापन सम्पन्न भइसकेको र बाँकी सामान्य काम आज साँझसम्म टुंगिने बताए। उनका अनुसार आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी तथा सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगिसकेका छन्।

उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। भौगोलिक रूपमा विकट मानिने हिमाली जिल्लाहरूमा पनि विशेष सञ्चार र ढुवानी व्यवस्था मिलाइएको जानकारी दिँदै ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बूको हिमपात हुने क्षेत्रका मतदान स्थलमा समेत प्रक्रिया प्रभावित नहुने उनले बताए।

कडा सुरक्षा व्यवस्था
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको छ। प्रदेशका एक हजार ९०७ मतदानस्थलमध्ये ४३९ लाई ‘अति संवेदनशील’ र ८२१ लाई ‘संवेदनशील’ सूचीमा राखेर सुरक्षा कडा पारिएको छ। नेपाली सेनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको जनाएको छ।   शंकास्पद वस्तु वा गतिविधि देखिए तत्काल प्रतिक्रिया जनाउने गरी सुरक्षा गस्ती र मोबाइल टोली सक्रिय बनाइएको छ।

अस्थायी मतदान केन्द्र र आचारसंहिता निगरानी
कारागार, वृद्धाश्रम तथा सुरक्षा निकायमा रहेका मतदाताका लागि २४ वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ। मौन अवधि सुरु भएसँगै निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ। सामाजिक सञ्जालमार्फत हुने प्रचार, भोजभतेर तथा समूहगत प्रदर्शनमाथि निगरानी बढाइएको छ। उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ। कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ४९५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रदेशभर कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन्, जसमा १८ लाख २८ हजार २१३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य मतदाता रहेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार