Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पर्सामा मस्जिदमा सुँगुरको टाउको फ्याँक्ने योजना बनाउँदै गरेका तीन पक्राउ

पर्सा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सामा मस्जिदमा सुँगुरको टाउको फ्याँकेर धार्मिक सद्भाव भड्काउने योजना बनाइरहेका तीन जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

गलबार राति करिब १० बजे वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नौ थान सुतली बम, एक थान सुँगुरको टाउको तथा करिब १० मिटर वायरिङ तार बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू मस्जिदमा सुँगुरको टाउको फ्याँकेर धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने तयारीमा रहेका थिए। इस्लाम धर्ममा सुँगुरलाई अपवित्र मानिने र मस्जिद मुस्लिम समुदायका लागि अत्यन्त पवित्र स्थल भएकाले यस्तो कार्य धार्मिक आस्थामाथिको गम्भीर आघात मानिन्छ। पवित्र स्थलमा जानाजानी अपवित्र ठानिने वस्तु राख्दा समुदायबीच आक्रोश र तनाव उत्पन्न हुन सक्ने भन्दै प्रहरीले यसलाई योजनाबद्ध रूपमा सद्भाव भड्काउने प्रयासका रूपमा लिएको जनाएको छ।

समयमै सुरक्षाकर्मी परिचालन गरिएकाले सम्भावित अप्रिय घटना टरेको  मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जानकारी दिए। पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको उल्लेख गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार