Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धनुषा पुलमा विस्फोट, दुई बालबालिका घाइते: चुनावअघि तनावका संकेत

धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन्। घाइतेमध्ये १५ वर्षीया आशा भुजेल (मिथिला–८, जमुनिवास)को दायाँ–बायाँ खुट्टामा सामान्य चोट लागेको छ। अर्का बालक ८ वर्षीय सुशील माझी (स्थायी घर गुल्मी, हाल मामा रिठबहादुर मगरको घरमा बस्दै)को हात, खुट्टा र छातीमा सामान्य चोट लागेको छ। दुवैको स्थानीय मेडिकल, जमुनिवासमा उपचार भइरहेको छ।

बालबालिकाका मामा र छिमेकीले घटनाबारे बताएका अनुसार पुलमा केही वस्तु राखिएको थियो र हिँड्ने क्रममा खुट्टाले ठोक्दा पड्केको हो। उनीहरूले उक्त वस्तु के थियो र कहाँबाट आयो भन्ने स्पष्ट जानकारी दिन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेशबहादुर बमका अनुसार प्रारम्भिक अनुसन्धानमा पड्किएको वस्तु “पटका जस्तो” देखिएको छ। डिएसपी बमले भने, “अहिलेसम्मको अवस्थाले हेर्दा पटका जस्तो देखिन्छ, तर यकिनका लागि थप अनुसन्धान भइरहेको छ।”

सुरक्षा स्रोतका अनुसार सो क्षेत्रमा हाल नेकपा (बहुमत) निकट कार्यकर्ताहरू सक्रिय रहेको सूचना छ। स्रोतले चुनाव नजिकिँदै गर्दा विरोधी गतिविधि वा चुनाव बिथोल्ने उद्देश्यका संकेत हुन सक्ने जानकारी रहेको दाबी गरेका छन्। प्रहरीले पुलमा उक्त वस्तु कसरी र किन राखिएको थियो भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार