NL न्यूज
एजेन्सी । अमेरिकाले बहराइन, जोर्डन र इराकमा कार्यरत गैर–आकस्मिक सेवाका आफ्ना सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकको यात्रा नगर्न पनि आग्रह गरेको छ।
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले प्रतिकारात्मक कारबाही जारी राखिरहेको सन्दर्भमा मध्यपूर्वमा तनाव चर्किएको छ। इरानले ती आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी हवाई अड्डालाई निशाना बनाइएको दाबी गरेको छ। इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास अवस्थित ‘ग्रिन जोन’ क्षेत्रमा आइतबार सयौँ प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरेका थिए।
त्यस्तै, जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले अज्ञात सुरक्षा खतराका कारण अस्थायी रूपमा केही कर्मचारीलाई खाली गरिएको जनाएको छ।
उता साउदी अरबले इरानको जवाफी आक्रमणपछि आफ्नो आकाशमा प्रवेश गरेका एक दर्जनभन्दा बढी क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको दाबी गरेको छ।
क्षेत्रीय तनाव निरन्तर बढिरहँदा मध्यपूर्वको समग्र सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।





प्रतिक्रिया दिनुहोस्