Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

स्ट्रेट अफ होर्मुज बन्द भएको इरानको दाबी, जहाज आगो लगाइदिने चेतावनी

एजेन्सी । इरानले विश्वकै महत्त्वपूर्ण तेल निर्यात मार्ग मानिने स्ट्रेट अफ होर्मसज बन्द गरिएको दाबी गर्दै त्यहाँबाट कुनै पनि जहाज गुज्रिए आगो लगाइदिने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ अधिकारीले सोमबार उक्त जलडमरूमध्य बन्द गरिएको घोषणा गरेका हुन्। गार्ड्सका कमाण्डर–इन–चीफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले भने, “हर्मुज जलडमरूमध्य बन्द छ। यदि कसैले पार गर्न खोजे क्रान्तिकारी गार्ड र नियमित नौसेनाका बलहरूले ती जहाजलाई आगो लगाइदिनेछन्।” तर अमेरिकी सञ्चारमाध्यम ले अमेरिकी सेनाको सेन्ट्रल कमान्डलाई उद्धृत गर्दै जलडमरूमध्य अझै खुला रहेको जनाएको छ।

तेल बजारमा असर पर्ने चिन्ता
पर्सियन खाडी हुँदै विश्वको करिब २० प्रतिशत दैनिक तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यस क्षेत्र बन्द भएमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य आकासिन सक्ने विश्लेषण गरिएको छ। सोमबार इरान र इजरायलबीच आक्रमण तीव्र बनेसँगै तेलको मूल्य करिब १३ प्रतिशतसम्म बढेको अन्तर्राष्ट्रिय बजारले जनाएको छ।

तेल ट्यांकरमाथि ड्रोन आक्रमणको दाबी
यसअघि सोमबार नै आईआरजीसीले अमेरिकीसँग सम्बन्धित भनिएको ‘ एटीएचई नोभा’ नामक तेल ट्यांकरमाथि ड्रोन आक्रमण गरिएको दाबी गरेको थियो। गार्ड्सद्वारा जारी वक्तव्यमा उक्त ट्यांकर दुई ड्रोनले प्रहार गरेपछि अझै जलिरहेको उल्लेख गरिएको छ। 

आक्रमणपछि चर्किएको तनाव
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि क्षेत्रीय तनाव चरममा पुगेको हो। उक्त प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता अली खामिनेनी मारिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी शासकविरुद्ध कारबाहीको चेतावनी दिँदै आएका थिए।
आक्रमणको जवाफमा इरानले इजरायलसहित अमेरिकी सैन्य आधार रहेका खाडी क्षेत्रका देशहरू—कतार, कुवेत र संयुक्त अरब इमिरेट्सतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

विश्वव्यापी ढुवानीमा प्रभाव
यसअघि नै यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले लालसागर क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गर्दै जहाज आवागमन अवरुद्ध पारिरहेका थिए। अब हर्मुज जलडमरूमध्य बन्द भएको दाबीले विश्वव्यापी आपूर्ति प्रणाली र ऊर्जा बजारमा थप अस्थिरता ल्याउने चिन्ता बढेको छ। तेहरानले विगतदेखि नै कुनै पनि बाह्य आक्रमण भए हर्मुज जलडमरूमध्य अवरुद्ध गर्ने चेतावनी दिँदै आएको थियो। अहिलेको घोषणासँगै मध्यपूर्वको अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार