Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज बेलुकी ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा देखिने

काठमाडौं । आज बेलुकी ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो ३ बजेर ३४ मिनेटमा ग्रहण स्पर्श हुनेछ। त्यसबेला खग्रास अवस्था भए पनि नेपालमा भने चन्द्रोदयपछि खण्डग्रासका रूपमा देखिनेछ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुकी ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै चन्द्रमा आंशिक रूपमा ढाकिएको अवस्थामा उदाउनेछ। ग्रहण बेलुकी ७ बजेर २ मिनेटमा सकिनेछ। नेपालबाट करिब एक घण्टासम्म ग्रहण अवलोकन गर्न सकिनेछ।

चन्द्रग्रहण कसरी लाग्छ?
पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। चन्द्रमाको आफ्नै प्रकाश नहुने भएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ, यसलाई चन्द्रग्रहण भनिन्छ। पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो भने आंशिक रूपमा ढाकिने अवस्था खण्डग्रास चन्द्रग्रहण हो। यद्यपि पूर्णिमा वा औँसीमा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमामा चन्द्रग्रहण हुँदैन। चन्द्रमाको कक्षीय धरातल पृथ्वीको कक्षीय धरातलसँग करिब ५ डिग्रीको कोणमा हुने भएकाले हरेक पूर्णिमामा ग्रहण नलाग्ने वैज्ञानिक कारण बताइएको छ। चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ।

धार्मिक मान्यता र सुतक
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार चन्द्रग्रहणमा तीन प्रहर अर्थात् नौ घण्टा अघिदेखि सुतक लाग्छ। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई ग्रहणका बेला भोजन निषेध गरिएको शास्त्रीय मान्यता छ। ग्रहणका समयमा जप, ध्यान, स्नान, पाठ जस्ता कर्म फलदायी हुने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। तीर्थस्थलमा स्नान गर्न उत्तम मानिए पनि सम्भव नभए नजिकको नदी, ताल, पोखरी वा घरमै स्नान गर्न सकिने बताइएको छ।

नाङ्गो आँखाले हेर्न सकिने
खगोल क्षेत्रमा कार्यरत नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार यो वर्ष नेपालबाट देखिने दोस्रो ग्रहण हो। यसअघि भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो। सन् २०२६ मा लाग्ने चार ग्रहणमध्ये नेपालबाट देखिने यो एकमात्र ग्रहण हो। सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मौसम अनुकूल भए देशका सबै भागबाट ग्रहण प्रष्ट देख्न सकिनेछ। चन्द्रग्रहण अवलोकन गर्न विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला चौर वा नजिकैको डाँडाबाट हेर्न सकिनेछ। चन्द्रोदयसँगै ग्रहण सुरु हुने भएकाले नजिकैको उच्च भूभागबाट अवलोकन गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार