NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा भोलि दिउँसो १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। मंसिर मसान्तभित्र नवीकरण सम्पन्न गर्ने भनिए पनि तोकिएको समयमै प्रक्रिया नसकिएपछि थप समय दिने सहमति भएको हो।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले हाल सञ्चालनमा रहेको क्रियाशील सदस्यता वितरण प्रणाली भोलि दिउँसो १२ बजे ‘लक’ गर्ने तयारी गरेको छ।
समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको काम पुस १० गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ। नवीकरण र नयाँ वितरण दुवै प्रक्रिया टुंग्याएर पार्टी केन्द्रीय कार्यालयमा बुझाइने उनले जानकारी दिए।
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। क्रियाशील सदस्यता व्यवस्थापन महाधिवेशनको आधारभूत प्रक्रिया भएकाले समयमै टुंग्याउन पार्टी नेतृत्वले जोड दिएको छ।





प्रतिक्रिया दिनुहोस्