NL न्यूज
काठमाडौं । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे छन्।
सोमबार रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा ९ जना घाइते भएका थिए।
घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको जनाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उक्त गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी माध्यमिक विद्यालय, सिरुवारी तथा रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवनतर्फ जाँदै थियो।
सडकको मोडमा गाडी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली तथा सशस्त्र प्रहरी बलको विपद् उद्धार बेस खुर्कोटको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली पठाएको थियो। त्यसपछि सेनाको हेलिकप्टरले मन्थलीबाट घाइतेहरूलाई काठमाडौँ ल्याएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्