Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचनले लोकतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशको विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए। उनका अनुसार निर्वाचन जटिल राजनीतिक परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ।

राष्ट्रपति पौडेलले विगतका वर्षहरूमा मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै लामो सङ्घर्ष र त्यागपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए। नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको र सङ्घीय शासन प्रणाली संस्थागत गर्दै प्रदेश तथा स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उनले बताए।

सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिला तथा विपन्न समुदायको अधिकार सुदृढ बनाउन प्रयास भइरहेको उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा पछिल्लो दशकमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले यी उपलब्धि जनताको बलिदान, अटुट विश्वास र सक्रिय सहभागिताको परिणाम भएको बताए।

यद्यपि सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। यो निर्वाचनले निरङ्कुशताविरुद्ध लड्ने अघिल्ला पुस्ता र सहिदहरूको सपना, तथा युवापुस्ताको सुशासन, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्ने उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रिया शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहन आग्रह गरेका छन्। मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान कायम राख्न उनले आह्वान गरे।

सम्बोधनको अन्त्यमा उनले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकास यात्रालाई सुदृढ बनाउने सङ्कल्पसहित ऐतिहासिक निर्वाचनमा सक्रिय सहभागिताका लागि सबैमा अपिल गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार