Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रामेछापमा मतदान अधिकृत सवार गाडी दुर्घटना, एक प्रहरीको मृत्यु, ९ घाइते

रामेछाप । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइते भएकाहरूलाई प्रारम्भिक उद्धारपछि सदरमुकाम मन्थली ल्याइएको छ। गम्भीर अवस्थाका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। सेनाको हेलिकप्टर मन्थली आइपुगेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी माध्यमिक विद्यालय, सिरुवारी तथा रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवनतर्फ जाँदै थियो। सडकको मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। चालकसहित ९ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोलीले घटनास्थल पुगेर उद्धार गरी घाइतेहरूलाई मन्थली पठाएको हो। दुर्घटनास्थल मन्थलीबाट करिब ३५ किलोमिटर पूर्वतर्फ पर्छ।

घटनास्थलमा सशस्त्र प्रहरी बलको विपद् उद्धार बेस खुर्कोटको टोलीले पनि उद्धार कार्यमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार