Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

खामेनेईको मृत्युपछि उत्तराधिकारीको दौडमा खुमेनीका नाति हसन को हुन् ?

इरानका सर्वोच्च नेता  अली खामेइनीको अमेरिकी–इजरायली आक्रमणमा मृत्यु भएपछि नयाँ सर्वोच्च नेताको चयन प्रक्रिया तीव्र बनेको छ। यससँगै इस्लामिक गणतन्त्रका संस्थापक रुहोल्ला खोमेनीका नाति हसन खुमेनी सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएका छन्। ८६ वर्षीय खामेनेईको निधनले लामो समयदेखि अन्योलमा रहेको उत्तराधिकारको प्रश्नलाई थप पेचिलो बनाएको छ। हसन खुमेनी संस्थापक आयतोल्लाहका १५ नातिनातिनामध्ये सबैभन्दा चिनिने अनुहार मानिन्छन्। ५३ वर्षीय उनी इरानको धार्मिक प्रतिष्ठानभित्र अपेक्षाकृत मध्यमार्गी धारका रूपमा हेरिन्छन्। उनको पूर्वराष्ट्रपति मोहम्मद खतामी र हसन रोहानीसँग निकट सम्बन्ध रहेको बताइन्छ। ती दुवै नेताले सत्तामा रहँदा पश्चिमसँग संवाद र सहकार्यको नीति अघि बढाएका थिए।
Khaemini1-1772453665.png
सार्वजनिक जीवनमा प्रतीकात्मक भूमिका
हसन खुमेनी दक्षिण तेहरानस्थित आफ्ना हजुरबुबाको समाधिस्थलका संरक्षक हुन्, जसले उनलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण स्थान दिएको छ। उनले हालसम्म कुनै सरकारी पद सम्हालेका छैनन्। इरानभित्र केही राजनीतिक वृत्तमा उनलाई कट्टरपन्थी धारको विकल्पका रूपमा पनि हेरिएको छ। विशेषगरी खामेनेईको शासनकालमा प्रभाव बढाएका कडा धारका समूह तथा उनका छोरा मोज्ताबासँग तुलना गरिँदै आएको छ।
Khaemini3-1772453665.png
सुधारको पक्षमा आवाज
इस्लामिक गणतन्त्रप्रति निष्ठावान रहे पनि हसन खुमेनीले बेला–बेला सुधारको पक्षमा मत राख्दै आएका छन्। सन् २०२१ मा उनले राष्ट्रपतिको उम्मेदवार छनोट गर्ने संवैधानिक निकाय गार्जियन काउन्सिलले सुधारवादी उम्मेदवारहरूलाई अयोग्य ठहर गरेपछि सार्वजनिक आलोचना गरेका थिए। त्यस निर्णयले कट्टरपन्थी नेता इब्राहिम रैसीलाई राष्ट्रपतिमा निर्वाचित हुन मार्ग प्रशस्त गरेको थियो। राइसीको सन् २०२४ मा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। सन् २०२२ मा हिरासतमा लिइएकी युवती मासा अमिनीको मृत्यु भएपछि देशव्यापी विरोध चर्किँदा हसन खुमेनीले पारदर्शी छानबिनको माग गरेका थिए। उनले २२ वर्षीया युवतीको मृत्युबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका थिए। यद्यपि प्रदर्शनका क्रममा केही समूहले खामेनेईविरुद्ध नारा लगाएपछि उनले त्यसको आलोचना पनि गरेका थिए। पछिल्लो अशान्तिका समयमा उनी संस्थापनकै पक्षमा उभिएका थिए र हिंसात्मक गतिविधिलाई बाह्य शक्तिसँग जोडेर टिप्पणी गरेका थिए।
Khaemini-1772453668.png
प्रगतिशील धर्मशास्त्रीको छवि
नजिकका स्रोतहरूका अनुसार उनी संगीत, महिला अधिकार र सामाजिक स्वतन्त्रताका विषयमा अपेक्षाकृत खुला सोच राख्ने धर्मशास्त्री हुन्। सामाजिक सञ्जालका प्रवृत्तिहरूमा रुचि राख्ने र पश्चिमी दर्शनप्रति पनि चासो देखाउने व्यक्ति भनेर चिनिन्छन्। उनकी पत्नी सैयदा फातिमा एक आयतोल्लाहकी छोरी हुन् र दम्पतीका चार सन्तान छन्। सुधारवादी समूहले उनलाई सन् २०१२ मा राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए।

विशेषज्ञ सभामा अवरोध
करिब एक दशकअघि उनले सर्वोच्च नेता चयन गर्ने अधिकार प्राप्त ‘असेम्बली अफ एक्सपर्ट्स’को निर्वाचनमा प्रतिस्पर्धा गर्न खोजेका थिए। प्रारम्भिक रूपमा खामेनेईको समर्थन पाए पनि अन्ततः गार्जियन काउन्सिलले उनको उम्मेदवारी अस्वीकृत गरेको थियो। उनको धार्मिक पद ‘हुज्जतोलइस्लाम’ आयतोल्लाहभन्दा एक तह तल भएकाले योग्यता नपुगेको औपचारिक कारण देखाइएको थियो, तर त्यसलाई सुधारवादी धारको सम्भावित चुनौती रोक्ने कदमका रूपमा व्याख्या गरिएको थियो। सन् २००८ मा उनले सैन्य निकायले राजनीतिमा हस्तक्षेप गर्नु नहुने आफ्नो हजुरबुबाको निर्देशन स्मरण गराउँदै टिप्पणी गरेपछि उनलाई इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सप्रति आलोचनात्मक रहेको रूपमा पनि हेरिएको थियो। तर व्यवहारतः उनीसँग उक्त निकायको सम्बन्ध राम्रो रहेको बताइन्छ।

उत्तराधिकारको पेचिलो गणित
इरान–इजरायलबीचको १२ दिने हवाई युद्धका क्रममा उनले खामेनेईको नेतृत्वको प्रशंसा गर्दै इरानी क्षेप्यास्त्र इजरायलका लागि दुःस्वप्न बनेको उल्लेख गरेका थिए। इजरायललाई उनले ‘दुष्ट जियोनिस्ट शासन’ भन्दै कडा आलोचना गर्दै आएका छन्। अरबी र अंग्रेजी भाषामा दक्ष हसन खुमेनी युवावस्थासम्म फुटबलप्रेमी थिए। तर हजुरबुबाको आग्रहमा उनी धार्मिक अध्ययनका लागि कुम सहर पुगेका थिए। खामेनेईको निधनसँगै अब सर्वोच्च नेताको चयन प्रक्रिया ‘असेम्बली अफ एक्सपर्ट्स’मार्फत अघि बढ्नेछ। त्यस प्रक्रियामा हसन खुमेनीको नाम प्रमुख रूपमा उठ्ने सम्भावना देखिए पनि अन्तिम निर्णय इरानको जटिल शक्ति सन्तुलनले निर्धारण गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार