Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ड्रोन आक्रमणपछि साउदीको रस तनुरा रिफाइनरी बन्द, तेल बजारमा चिन्ता बढ्यो

एजेन्सी । इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणको प्रत्युत्तरस्वरूप तेहरानले क्षेत्रभरि सुरु गरेको हमलाको तेस्रो दिन साउदी अरेबियाको प्रमुख तेल पूर्वाधार निशानामा परेको छ। ड्रोन आक्रमणपछि साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोले रस तनुरा रिफाइनरी बन्द गरेको उद्योग स्रोतले जनाएको छ।

खाडी तटमा अवस्थित रस तनुरा रिफाइनरी मध्यपूर्वकै ठूलोमध्ये एक हो, जसको दैनिक प्रशोधन क्षमता ५ लाख ५० हजार ब्यारेल छ। यो साउदी कच्चा तेल निर्यातको महत्वपूर्ण टर्मिनलसमेत हो। स्रोतका अनुसार रिफाइनरी सावधानीका रूपमा बन्द गरिएको हो र अवस्था नियन्त्रणमा छ। साउदी रक्षा मन्त्रालयका प्रवक्ताले अल अरेबिया टेलिभिजनमार्फत जानकारी दिँदै उक्त केन्द्रमा प्रहार गरिएका दुई ड्रोनलाई अवरोध गरिएको बताए। ड्रोनका भग्नावशेषका कारण सानो आगलागी भए पनि मानवीय क्षति नभएको उनले स्पष्ट पारे।

यस घटनाले आपूर्तिसम्बन्धी चिन्ता थप बढाएको छ। आइतबार आसपासका जहाजहरूमा आक्रमण भएपछि होर्मुज हुँदै हुने ढुवानी झन्डै ठप्पजस्तै बनेको छ। विश्व तेल उपभोगको करिब पाँचौँ हिस्सा यही मार्गबाट ओसारपसार हुन्छ। सोमबार ब्रेन्ट कच्चा तेलको भाउ करिब १० प्रतिशतले उकालो लागेको छ। जोखिम विश्लेषण कम्पनी भेरिस्क म्यापलक्रफ्टका मध्यपूर्व विश्लेषक टोर्ब्योर्न सोल्टभेटले रस तनुरा आक्रमणलाई “गम्भीर स्तरको वृद्धि” को संज्ञा दिएका छन्। उनका अनुसार अब खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरू प्रत्यक्ष रूपमा निशानामा परेका छन् र यसले साउदी अरेबिया तथा छिमेकी देशहरूलाई अमेरिका र इजरायलको सैन्य अभियानतर्फ अझ नजिक पुर्‍याउन सक्छ। अराम्कोले भने यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।

क्षेत्रभरि ड्रोन तथा मिसाइल आक्रमणको श्रृंखला जारी छ। अबुधबी, दुबई, दोहा, मनमा तथा ओमानको व्यापारिक बन्दरगाह डकुम आसपास पनि आक्रमण भएको जनाइएको छ। इराकको कुर्दिस्तान क्षेत्रमा उत्पादन हुने अधिकांश तेल पनि सावधानीका रूपमा सप्ताहन्तमा बन्द गरिएको छ। उक्त क्षेत्रले फेब्रुअरीमा दैनिक करिब दुई लाख ब्यारेल तेल टर्की निर्यात गरेको थियो।

साउदीका कडा सुरक्षा घेरामा रहेका ऊर्जा संरचनाहरू यसअघि पनि निशानामा परेका थिए। सन् २०१९ को सेप्टेम्बरमा अबाकिक तेल र खुराइस तेल क्षेत्रमा भएको अभूतपूर्व ड्रोन तथा मिसाइल आक्रमणले साउदीको आधाभन्दा बढी कच्चा तेल उत्पादन अस्थायी रूपमा बन्द गराएको थियो, जसले विश्व बजारमा ठूलो हलचल ल्याएको थियो।  सन् २०२१ मा पनि यमनस्थित इरानसमर्थक हुथी विद्रोहीले रस तनुरामाथि आक्रमण प्रयास गरेका थिए, जसलाई रियादले विश्व ऊर्जा सुरक्षामाथिको असफल हमला भनेको थियो। ताजा घटनाक्रमले मध्यपूर्वमा बढ्दो तनावबीच विश्व ऊर्जा आपूर्तिको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार