NL न्यूज
सुदूरपूर्व ताप्लेजुङमा यसपटक एमालेले आफ्ना उपमहासचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएन । बरु, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेलाई प्रत्याशी बनाएको छ । भट्टराई एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उत्रिएका ईश्वर पोखरेलको प्यानलमा थिए । तर, थेबे ओलीको खासमा पर्छन् । त्यसैले पनि भट्टराईभन्दा थेबे ओलीको रोजाइमा परे । थेबेसँग नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ चुनावी मैदानमा छन् । उनी ताप्लेजुङ कांग्रेसका सभापति हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफ्ना जिल्ला सभापति वीरेन्द्र श्रेष्ठलाई प्रतिष्पर्धामा उतारेको छ । विभिन्न दल गरी ताप्लेजुङमा १३ उम्मेदवार मैदानमा छन् । ताप्लेजुङ एउटामात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
को–को छन् त, उम्मेदवार ?
नेपाली कांग्रेस– गजेन्द्रप्रसाद तुम्याहाङ
नेकपा एमाले– क्षितिज थेबे
नेकपा– खेलप्रसाद बुढाक्षेत्री
रास्वपा– वीरेन्द्र श्रेष्ठ
राप्रपा– इन्द्रप्रसाद थापा
श्रम संस्कृति पार्टी– सन्तोष राई
उज्यालो नेपाल पार्टी– कीर्तिमान मादेन
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– मुक्साम लावुङ
जसपा नेपाल– सूर्य तमू
जसपा– अरुण लेछर्बो
नेपाल जनमुक्ति पार्टी– इन्द्रकुमार थलङ
मंगोल नेसनल अर्गनाइजेसन– सन्तबहादुर लिम्बू
नेकपा (माओवादी)– नरपति पौडेल
यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार छैनन् । कूल ९० हजार ३ सय २७ मतदाता रहेको यो क्षेत्रमा कुन दलको अवस्था कस्तो थियो । जानकारी राखौं ।
२०७९ साल मंसिरमा भएको आम निर्वाचनमा एमालेका योगेश भट्टराईले चुनाव जितेका थिए । उनले खेलप्रसाद बुढाक्षेत्रीलाई हराएका थिए ।
२०७९ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ कसको कति मत ?
एमाले : योगेश भट्टराई– २१ हजार ९ सय ४३
तत्कालीन माओवादी केन्द्र : खेलप्रसाद बुढाक्षेत्री– २१ हजार ७ सय ३५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : होमप्रसाद तुम्बाहाम्फे–९ सय ४१
त्यो चुनावमा तत्कालीन माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो ।
अब समानुपातिकतर्फको नतिजा हेरौं ।
एमाले– १९ हजार ६ सय ४
कांग्रेस–१५ हजार ७ सय ३५
माओवादी– ५ हजार १ सय ६२
एकीकृत समाजवादी–१५ सय ४५
रास्वपा– ९ सय ७८
अरु दल नौ सयभन्दा तल छन् ।
अब स्थानीय चुनाव २०७९ को अवस्था हेरौं ।
ताप्लेजुङको नौ स्थानीय पालिकामध्ये ५ स्थानीय पालिकाको प्रमुख एमालेले जितेको छ । त्यस्तै कांग्रेसले चार स्थानका प्रमुख जितेको छ । अन्य दल स्थानीय पालिकाका नेतृत्वमा छैनन् ।
गाउँ तहमा एमालेको संगठनात्मक जालो बलियो देखिन्छ भने कांग्रेस मध्यम रूपमा फैलिएको छ । माओवादी केन्द्रले सीमित तर स्थिर आधार जोगाइराखेको देखिन्छ । तर यसपटक चुनाव फरक पर्ने देखिएको छ । २०७९ को आमनिर्वाचनमा ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाता थिए । योपटक बढेर ९० हजार ३ सय २७ पुगेको छ । अहिले माहोल फरक देखिएको छ । त्यसैले पुरानाले विरासत जोगाउलान् वा नयाँले मतदाताको मन रिझाउलान् ? त्यो फागुन २१ को चुनाव पर्खनै पर्छ ।





प्रतिक्रिया दिनुहोस्