Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा २ मा पूर्व सभामुख र उपसभामुखबीच प्रतिस्पर्धा, देवराजलाई स्पष्टिकरण दिँदै हैरान, इन्दिरालाई लहरको आश

झापा । संख्यात्मक हिसाबले झापा–२ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । १५ दल र ३ स्वतन्त्र उम्मेदवारबीच हुने यो प्रतिस्पर्धामा व्यक्तित्व, संगठन र विगतको मत परिणामलाई हेर्दा भने प्रतिस्पर्धा मुख्यतः त्रिपक्षीय हुने संकेत देखिएको छ। यही कारण झापा–२ को निर्वाचनलाई राजनीतिक वृत्तमा ‘हेविवेट भिडन्त’का रूपमा हेरिएको छ।

फागुन २१ गते हुने मतदानपछि आउने नतिजामा नेकपा एमालेका उम्मेदवार तथा पूर्वसभामुख देवराज घिमिरे, नेपाली कांग्रेसकी उम्मेदवार तथा पूर्वकृषि राज्यमन्त्री सरिता प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्वउपसभामुख इन्दिरा रानामगरबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी तीनै उम्मेदवारलाई व्यक्तित्वका हिसाबले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार तथा पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईं,  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) र स्वतन्त्र उम्मेदवार तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले चुनौती दिने देखिन्छ ।

कम्युनिस्टको ‘गढ’ झापा–२
झापा–२ लाई लामो समयदेखि कम्युनिस्ट आन्दोलनको गढका रूपमा लिने गरिन्छ । विशेषतः यो क्षेत्र नेकपा एमालेको ‘किल्ला’ मानिँदै आएको छ । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका सुधिर सिवाकोटीले चुनाव जित्दै उक्त किल्ला भत्काउने प्रयास गरे पनि त्यसअघि र त्यसपछिका अधिकांश निर्वाचनमा कम्युनिस्ट उम्मेदवारकै वर्चस्व रह्यो ।

२०७९ सालको आमनिर्वाचनमा पनि एमालेका देवराज घिमिरे विजयी बने । तर, त्यस निर्वाचनले झापा–२ मा परम्परागत समीकरण बदलिन थालेको संकेत भने दिइसकेको थियो । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले घिमिरेलाई झिनो मतान्तरले पछ्याउँदै कडा चुनौती दिएका थिए । यसपटक भने बदलिएको राजनीतिक सन्दर्भ,  नयाँ दलको उदय र गठबन्धनको अभावले एमालेका लागि ‘किल्ला जोगाउने’ चुनौती थपिएको छ ।

देवराज घिमिरे : किल्ला जोगाउने दाबीसहित मैदानमा
नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । २०७९ मा २८ हजार ७ सय १६ मत ल्याएर विजयी भएका घिमिरे त्यसपछि सभामुख बनेका थिए । सभामुखबाट राजीनामा दिएर उनी पुनः झापा–२ बाट चुनावी मैदानमा उत्रिएका हुन् । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४ सय ५५ मत ल्याएर घिमिरेलाई कडा चुनौती दिएका थिए । यसपटक स्वागत राप्रपाबाट उम्मेदवार बनेपछि स्वतन्त्र उम्मेदवारको हैसियतमा पाएको चर्चा केही कम भएको विश्लेषण गरिन्छ। घिमिरे भने चुनौती स्वीकार्दै जितमा विश्वस्त देखिन्छन् । उनले देशी–विदेशी शक्तिको चलखेलबाट चुनाव प्रभावित पार्ने प्रयास भइरहेको आरोपसमेत लगाउने गरेका छन् ।

इन्दिरा रानामगर : रास्वपाको लहर र नयाँ आशा
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा रानामगर झापा–२ को चुनावमा सबैभन्दा बढी चर्चा बटुल्ने पात्रमध्ये एक हुन् । समानुपातिक सांसद बनेर उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी रानामगर पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दैछिन् । ३५–३६ वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेको, मतदातासँग व्यक्तिगत सम्बन्ध बलियो रहेको र रास्वपाको देशव्यापी चुनावी लहर आफ्नो मुख्य शक्ति भएको उनी बताउँछिन् । २०७९ को निर्वाचनमा झापा–२ बाट समानुपातिकतर्फ रास्वपाले २२ हजार ५ सय १७ मत पाएको थियो । यो मत आधारले रास्वपाले एमाले र कांग्रेस दुवैलाई कडा चुनौती दिने अनुमान गरिएको छ।

सरिता प्रसाईं : बदलिएको कांग्रेसको आत्मविश्वास
नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय नेतृ हुन् । पूर्वकृषि राज्यमन्त्रीसमेत रहेकी प्रसाईं यसपटक झापा–२ मा कांग्रेसको इतिहास बदल्ने दाबीका साथ मैदानमा छिन् । उनका अनुसार पार्टी नेतृत्व परिवर्तनपछि कांग्रेसमा गुट–उपगुट कमजोर बनेको छ । कांग्रेसको आन्तरिक एकताले झापा–२ मा आफूलाई बलियो प्रतिस्पर्धी बनाएको उनको दाबी छ । संगठनात्मक रूपमा पनि कांग्रेस बलियो देखिन्छ । यो क्षेत्रमा कांग्रेसका ६ हजार ४ सय क्रियाशील सदस्य छन् । प्रत्येक क्रियाशीलले परिवार र छिमेकीका मत सुरक्षित गर्ने रणनीतिले कांग्रेसलाई जिततर्फ लैजान सक्ने कांग्रेस नेताहरूको विश्लेषण छ ।

अन्य प्रभावशाली उम्मेदवार
नेकपाकी उम्मेदवार धर्मशिला चापागाईं पूर्वस्वास्थ्य राज्यमन्त्री हुन् । संगठन कमजोर भए पनि उनको व्यक्तिगत राजनीतिक अनुभवले मत विभाजनमा भूमिका खेल्न सक्ने आँकलन छ । राप्रपाका उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो भएका थिए । यसपटक पार्टीको झण्डासहित मैदानमा उत्रँदा उनको प्रभाव अघिल्लो पटकजस्तो रहने–नरहने बहसको विषय बनेको छ । यसैगरी स्वतन्त्र उम्मेदवार तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले शिक्षित र मध्यमवर्गीय मतदातामा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

विगतको मत परिणाम र सम्भाव्यता
२०७९ सालको प्रत्यक्षतर्फको परिणाम हेर्दा एमाले पहिलो, स्वतन्त्र दोस्रो, माओवादी तेस्रो र रास्वपा चौथो स्थानमा थियो । समानुपातिकतर्फ भने एमाले, रास्वपा र कांग्रेसबीचको मतान्तर निकै कम देखिन्छ। २१ फागुनका लागि झापा–२ मा १ लाख ४७ हजार ५ सय २२ मतदाता छन्, जसमा १३ हजार ४ सय ३१ नयाँ मतदाता छन् । यही नयाँ मतदाता र रास्वपाको प्रभावले यसपटकको परिणाम अघिल्ला चुनावभन्दा फरक आउन सक्ने सम्भावना बलियो देखिन्छ।

२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फको मत परिणाम हेरौं :
प्रत्यक्षतर्फ

एमाले- देवराज घिमिरे- २८७१६ मत (विजयी)
स्वतन्त्र- भद्रप्रसाद नेपाल (स्वागत)- २६४५५ मत
माओवादी केन्द्र- हरिकुमार राना मगर- १३९३० मत
रास्वपा- रुद्रप्रसाद गिरी- ८७८१ मत
अन्य दलले एक हजार मत पनि कटाउन सकेनन् ।

समानुपातिकतर्फ
एमाले- २६,४९० मत
रास्वपा- २२,५१७ मत
कांग्रेस- १५,४९८ मत
राप्रपा- ७,८८० मत
माओवादी केन्द्र- ३,८६९ मत
एकीकृत समाजवादी- १,१६९ मत
अन्य दलले एक हजार मत पनि कटाउन सकेनन् । झापा–२ को निर्वाचन केवल एक क्षेत्रको प्रतिनिधि छनोट मात्र होइन, बदलिँदो नेपाली राजनीतिक प्रवृत्तिको परीक्षणसमेत बनेको छ । एमाले आफ्नो परम्परागत किल्ला जोगाउने संघर्षमा छ भने कांग्रेस इतिहास रच्ने दाउमा देखिन्छ । रास्वपा भने पुराना शक्ति सन्तुलन भत्काउने आत्मविश्वासका साथ मैदानमा उभिएको छ । यसैले, झापा–२ को चुनावी परिणामले न केवल स्थानीय राजनीति, तर राष्ट्रिय राजनीतिक समीकरणमा पनि महत्वपूर्ण सन्देश दिने निश्चित छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार