Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मध्यपूर्व अशान्त बनेपछि नेपालीका लागि सरकारको चार महत्वपूर्ण निर्णय

काठमाडौं — खाडी मुलुकहरूमा विकसित पछिल्लो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले आइतबार महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र त्यहाँ रहेका नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार प्रभावित देशस्थित दूतावास तथा नियोगहरूले सूचना र सतर्कता सन्देश जारी गरिसकेका छन्। उनले पत्रकार भेटघाटमा मन्त्रालयले विभिन्न देशका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जानकारी दिए।

सरकारले आइतबार चालेका चार प्रमुख कदम यस्ता छन्:
१. बहु-सरोकारवाला आपतकालीन उद्धार टोली गठन प्रक्रिया सुरु

परराष्ट्र सचिवको संयोजकत्वमा ‘मल्टि–स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम’ गठनको प्रक्रिया अघि बढाइएको छ। यसमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्था सहभागी हुने जनाइएको छ।
२. डिजिटल निगरानी संयन्त्र स्थापना
खाडी क्षेत्रका देशहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूलाई समेटेर तत्काल सूचना आदान–प्रदानका लागि ह्वाट्सएप समूह बनाइएको छ। यसबाट प्रत्येक देशको ताजा सुरक्षा अवस्था र नेपालीले भोगिरहेका समस्याबारे छिटो जानकारी संकलन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
३. अनलाइन रजिस्ट्रेसन र मोबाइल एप विकास
सम्भावित उद्धार कार्यलाई व्यवस्थित बनाउन कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गर्न निर्देशन दिइएको छ। यसमार्फत विदेशी भूमिमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
४. हटलाइन र ट्राभल एडभाइजरी
प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको छ। साथै, २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइन स्थापना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। परिस्थिति थप जटिल भए तत्काल निर्णय लिन आवश्यक संयन्त्रहरू तयार अवस्थामा राखिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार