Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मध्यपूर्वका विभिन्न १२ देशमा गरी १७ लाख २९ हजार २ सय ८८ नेपाली, इरानमा १० जना

काठमाडौं । परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल मध्य पूर्वका विभिन्न १२ देशमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक कार्यरत तथा बसोबास गर्दै आएका छन्। इजरायल–गाजा द्वन्द्व, इरान–इजरायल तनाव, रेड सी सुरक्षासँग जोडिएका जोखिम र क्षेत्रीय अस्थिरताबीच यी देशमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको छ।

इरानमा न्यून उपस्थिति, आंशिक फर्काइ
मन्त्रालयका अनुसार इरानमा १० जना नेपाली रहेकोमा ४ जना स्वदेश फर्किएका छन्। बाँकी रहेका नेपालीको अवस्थाबारे दूतावासमार्फत नियमित समन्वय भइरहेको जनाइएको छ।

इजरायलमा ६,५ सय नेपाली
हाल इजरायलमा करिब ६ हजार ५ सय  नेपाली कार्यरत छन्। स्याहार–सुसार (केयरगिभिङ), कृषि र अन्य श्रम क्षेत्रमा उनीहरूको उपस्थिति छ। गत वर्षको हमास–इजरायल द्वन्द्वपछि सुरक्षा सतर्कता बढाइएको छ र नेपाली दूतावासले आपत्कालीन सम्पर्क संयन्त्र सक्रिय राखेको जनाएको छ।

इजिप्ट, लेवनन र इराक
इजिप्टमा ५ सय, लेवननमा १५सय र इराकमा ३० हजार नेपाली रहेको मन्त्रालयको विवरण छ। इराकमा निर्माण तथा ऊर्जा क्षेत्रमा नेपाली श्रमिकको उल्लेख्य उपस्थिति छ।

खाडी राष्ट्रहरूमा ठूलो संख्या
खाडी क्षेत्र नेपालका लागि प्रमुख श्रम गन्तव्य रहँदै आएको छ।
१. कतारमा ३ लाख ५७ हजार ९१३
२. साउदी अरबमा ३ लाख ८४ हजार ८६५
३. संयुक्त अरब इमिरेट्स (दुबईसहित) मा करिब ७ लाख
४. कुवेतमा १ लाख ७५ हजार
५. बहराइनमा २८ हजार
६. ओमानमा २५ हजार
विशेषगरी यूएई, साउदी र कतारमा निर्माण, सेवा, आतिथ्य, सुरक्षा र घरेलु श्रम क्षेत्रमा नेपालीहरूको उल्लेख्य संलग्नता छ।

साइप्रसमा १७ हजार
साइप्रसमा १७ हजार नेपाली बसोबास गरिरहेका छन्। साइप्रस युरोपेली श्रम बजारको वैकल्पिक गन्तव्यका रूपमा पछिल्ला वर्षहरूमा लोकप्रिय बनेको छ।

कूटनीतिक सक्रियता र आपत्कालीन तयारी
परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा नियोगहरूलाई उच्च सतर्कतामा राखिएको जनाएको छ। आपत्कालीन उद्धार, सुरक्षित आवागमन, र आवश्यक परे चार्टर उडानको तयारीबारे गृहकार्य भइरहेको स्रोतको दाबी छ। विशेषज्ञहरूका अनुसार मध्य पूर्वमा कार्यरत नेपालीको ठूलो संख्या नेपालको रेमिटेन्स अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। खाडी राष्ट्रहरूमा केन्द्रित श्रम आप्रवासनले नेपालको विदेशी मुद्रा आर्जनमा मुख्य योगदान दिँदै आएको छ। त्यसैले क्षेत्रीय अस्थिरताले मानवीय मात्र नभई आर्थिक प्रभाव पनि पार्न सक्छ।

हालको अवस्था हेर्दा, प्रत्यक्ष युद्धमा संलग्न देशबाहेक अधिकांश खाडी राष्ट्रहरूमा दैनिक जनजीवन सामान्य रहे पनि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाली समुदायलाई सतर्क रहन र दूतावासको सम्पर्कमा बस्न आग्रह गरिएको छ। सरकारी विवरणअनुसार, मध्य पूर्वका यी १२ देशमा रहेका नेपालीहरूको कुल संख्या १७ लाख २९ हजार २८८ पुगेको छ। बदलिँदो भू–राजनीतिक परिस्थितिमा उनीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यका लागि प्राथमिक दायित्व बनेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार