Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दुबई र दोहामा दोस्रो दिन पनि विस्फोटको आवाज सुनियो

एजेन्सी । खाडी क्षेत्रमा बढ्दो सैन्य तनावबीच आइतबार पनि दुबई र कतारको राजधानी दोहामा ठूलो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले सुरु गरेको प्रतिकारात्मक कारबाही दोस्रो दिन पनि जारी रहँदा खाडीका सहरहरू त्यसको प्रभावमा परेका हुन्। इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाउने चेतावनी दिएको थियो। तर पछिल्ला आक्रमणहरू खाडीका विभिन्न सहरका अन्य संरचनामा समेत पुगेका छन्।

दुबईमा क्षति
दुबई मिडिया अफिसका अनुसार ड्रोन अवरोध गर्ने क्रममा खसेको छर्राले दुईवटा घरमा क्षति पुर्‍याउँदा दुई जना घाइते भएका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, चर्चित होटल बुर्ज अल अरब र मानव निर्मित टापु पाम जुमेरामा पनि क्षति पुगेको जनाइएको छ।  जेबेल अली पोर्टक्षेत्रबाट बाक्लो कालो धुवाँ निस्किरहेकाले त्यहाँको एउटा बर्थमा आगलागी भएको पुष्टि गरिएको छ। क्षेप्यास्त्र अवरोध गर्ने क्रममा खसेको भग्नावशेषका कारण आगो लागेको बताइएको छ। दुबई मध्यपूर्वकै सबैभन्दा ठूलो पर्यटन र व्यापारिक केन्द्र मानिन्छ। यहाँको अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै व्यस्तमध्ये एक हो। त्यसैले यहाँको सुरक्षा अवस्थाले क्षेत्रीय अर्थतन्त्र र उडान सेवामा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

दोहामा सीमित आगलागी
कतारको गृहमन्त्रालयले दोहाको एक औद्योगिक क्षेत्रमा क्षेप्यास्त्र अवरोध गर्दा खसेको भग्नावशेषका कारण सानो आगलागी भएको जनाएको छ। अवस्था नियन्त्रणमा रहेको र थप जोखिम नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

बढ्दो क्षेत्रीय तनाव
अमेरिका र इजरायलले इरानका आणविक तथा सैन्य संरचनामा प्रहार गरेपछि सुरु भएको तनाव अहिले खाडीका प्रमुख सहरसम्म फैलिएको छ। लगातार दोस्रो दिन विस्फोट सुनिनुले क्षेत्रीय युद्धको दायरा विस्तार हुँदै गएको संकेत गर्छ। हालसम्म दुवै सहरमा सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ। उडान तालिका, समुद्री यातायात र ऊर्जा आपूर्तिमा असर पर्ने सम्भावना विश्लेषकहरूले औंल्याएका छन्। स्थिति अझै अस्थिर छ। आगामी घण्टा र दिनहरूमा क्षेत्रीय शक्ति सन्तुलन कता मोडिन्छ भन्ने कुरा विश्व समुदायको चासोको विषय बनेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार