Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इरानको छैटौँ चरणको मिसाइल–ड्रोन आक्रमण, मध्यपूर्वका विभिन्न सहरमा विस्फोट

तेहरान/तेलअविव — इरानले आइतबार बिहान मध्यपूर्व क्षेत्रमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले इजरायल र क्षेत्रका अमेरिकी अड्डालाई लक्षित गर्दै छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन गरेको जनाएको छ।

इरानको अर्धसरकारी तास्निम समाचार एजेन्सीका अनुसार आक्रमण बहु–लक्ष्यित र समन्वित ढंगले गरिएको हो। घटनाबारे सीएनएनका संवाददाताहरूले विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको बताएका छन्। इजरायली सेनाले इरानबाट प्रहार भएका मिसाइल पहिचान गरी रक्षात्मक प्रणाली सक्रिय गरिएको जनाएको छ। मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए।

संयुक्त अरब इमिरेट्सको दुबईमा पनि बिहानभरि विस्फोटको आवाज सुनिएको र आकाशमा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुबईको प्रमुख व्यावसायिक बन्दरगाह जेबेल अली पोर्ट क्षेत्रमा ड्रोन अवरोधका भग्नावशेषबाट आगलागी भएको जनाइएको छ।

कतारको राजधानी दोहामा स्थानीय समय अनुसार बिहान करिब ७ः३० बजे ठूलो विस्फोट सुनिएको थियो। कतारको गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् र केही संरचनामा सीमित क्षति पुगेको छ। बहराइनको मनामा स्थित क्राउन प्लाजा होटल नजिक धुवाँ उठेको भिडियो पुष्टि भएको छ। बहराइनको गृह मन्त्रालयले साइरन बजाउँदै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

इराकको एर्बिल विमानस्थल क्षेत्रबाट कालो धुवाँ उठेको तस्बिर सार्वजनिक भएका छन्। इराननिकट फार्स समाचार एजेन्सीले एर्बिलमा भारी विस्फोट सुनिएको जनाएको छ। यी घटनाले क्षेत्रीय तनावलाई थप चर्काएको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा सुरक्षा र कूटनीतिक अवस्था अझ जटिल बन्ने संकेत देखिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार