Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इरानमाथि इजरायली आक्रमण : तेहरानमा शक्तिशाली विस्फोट

इरान । इरानको राजधानी तेहरानको मध्यभागमा शुक्रबार तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार रिपब्लिक (जम्हुरी) क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएको छ। जम्हुरी स्क्वायर र हसन अवाद स्क्वायर आसपासको आकाशमा धुवाँको मुस्लो उडिरहेको तस्बिर सार्वजनिक भएका छन्। राज्य समर्थित फार्स न्युज एजेन्सीले तेहरानको उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटको आवाज सुनिएको जनाएको छ।

तेहरानमा विस्फोटको खबर बाहिरिएलगत्तै इजरायलले इरानविरुद्ध ‘प्रि–एम्प्टिभ’ आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो देशमाथि रहेको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताए। उनले देशभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको पनि घोषणा गरेका छन्।

संभावित जवाफी क्षेप्यास्त्र प्रहारको जोखिमलाई ध्यानमा राख्दै इजरायलभर स्थानीय समयअनुसार बिहान ८:१५ बजे साइरन बजाइएको थियो। उता इरानले आक्रमण भए कडा जवाफ दिने चेतावनी यसअघि नै दिइसकेको थियो।

यो सैन्य टकराव संयुक्त राज्य अमेरिका र इरानबीच जारी आणविक कार्यक्रमसम्बन्धी कूटनीतिक प्रयासकै बीच भएको बताइएको छ। बीबीसीका अनुसार आगामी साता वार्ता जारी रहने अपेक्षा गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छलफलको प्रगतिप्रति असन्तुष्टि जनाएका थिए। उनले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाउने निर्णयसमेत गरिसकेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई आफ्नो देशका लागि गम्भीर सुरक्षा चुनौती भन्दै आएका छन्। तर इरानले भने आफ्नो क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय समूहहरूप्रति समर्थनलाई सार्वभौमसत्तासँग जोडिएको विषय भएको दाबी गर्दै बाह्य दबाब अस्वीकार गर्दै आएको छ।

यसअघि गत जुनमा दुवै पक्षबीच भएको आक्रमण–प्रत्याक्रमणले ‘१२ दिने युद्ध’को रूप लिएको थियो। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा फेरि ठूलो द्वन्द्व भड्किने चिन्ता बढाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार