Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने आयोगको तयारी, मतपेटिका सङ्कलन समय घटाइने

काठमाडौं — निर्वाचन आयोगले यसपटक मतदाताको प्रतीक्षा समय छोट्याउने लक्ष्यसहित मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ। फागुन २१ गते मतदान सम्पन्न भएलगत्तै नतिजा प्रक्रियालाई अघि बढाउने गरी आयोगले रणनीति बनाएको हो। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार विगतका अनुभवलाई आधार मान्दै मतपेटिका सङ्कलनको समय उल्लेख्य रूपमा घटाइनेछ। “मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ,” उनले भने।

छिटो नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित आयोगले व्यवस्थापन तयारी तीव्र पारेको जनाएको छ। यसका लागि राजनीतिक दलहरूसँग समन्वय गरी मतदानअघि नै मतगणना स्थल निर्धारण र आवश्यक पूर्वतयारी पूरा गर्ने योजना रहेको प्रवक्ता भट्टराईले जानकारी दिए। उनका अनुसार मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले सकारात्मक उद्देश्यसहित यस्तो कदम चाल्न लागेको हो। स्थानीय तहमा आउनसक्ने प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै ‘अप्टिमम’ रूपमा काम गर्ने लक्ष्य लिइएको उनले बताए।

धेरैजसो निर्वाचन क्षेत्रमा जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतगणना स्थल तोकिसकिएको आयोगले जनाएको छ। आयोगको विश्वास छ कि यस व्यवस्थापनले नतिजा प्रक्रियालाई छिटो, व्यवस्थित र विश्वसनीय बनाउनेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार